शिक्षकसँगको वार्ता निष्कर्षाेन्मुख,सहमति हुन बाँकीः कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने

459 Shares

काठमाडाैं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्ता निष्कर्षाेन्मुख देखिए पनि सहमति भने हुन सकेन। 

आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिएका छन् । शिक्षक महासंघले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ। वार्तापछि बाहिरिने क्रममा संचारकर्मीहरुसँग बोल्दै नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफूहरु जिम्मेवार भएको बताउनु भयो। 

मंगलबार रातिसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको बुझिएको छ । वार्तामा सहभागी एक मन्त्रीका अनुसार शिक्षक महासंघले राखेको  माग मन्त्रिपरिषदबाट पास भएमा महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । महासंघले आफ्नो सहमतिको न्युनतम बिन्दु सरकारलाई दिएको र सरकारले निर्णय गरेमा  बुधबार बस्ने महासंघको बैठकले आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने बताइएको छ। 

यता वार्तापछि बाहिरिँदै गर्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले द्विपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको र छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताउनु भयो । शिक्षक महासंघले चैत २० गतेदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएको छ। २८ दिनदेखि जारी आन्दोलनले सार्वजनिक शिक्षालाई प्रभावित पारेपछि सरकारले माग सम्बोधनमा तदारुकता देखाएको छ। यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषयमा ७ बुँदे प्रस्ताव तयार गर्नुभएको थियो।   

आजको वार्तामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो। यस्तै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको शिक्षक टोली वार्तामा सहभागी थियो।