काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२/८३) बैशाख १९ गते ल्याउने भएको छ।
सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम बैशाख १९ गते ल्याउने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक व्यवस्था रहेको छ। मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपतिसमक्ष सिफारिसका लागि अनुरोध गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।
गएको १२ गते बोलाइएको संघीय संसद्को दुवै सदनको अधिवेशनमा परम्परा तोड्दै सरकारले बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ। संघीय संसद्को दुवै सदनमा अलग अलग छलफल हुनेछ। करिब एक साता छलफल गरेपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २८ गते दिने कार्यतालिका बनाइएको छ। यस्तै बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा वैशाख २८ गते नै प्रस्तुत गरिने छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल गर्ने कार्य तालिका छ।
शिक्षकहरुसँगको वार्ता सकारात्मक
यस्तै सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता सकारात्मक भएको बताउनु भएको छ । मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीहरुसँग बालुवाटारमा बोल्दै संचारमन्त्री गुरुङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी प्राप्त भएको बताउनु भयो।
पर्सिसम्ममा शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको बताउनु भयो । मन्त्रिपरिषद्को बैठक बस्नु अघि सरकारका ३ मन्त्रीहरु अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त र एमाले महासचिव शंकर पोखरेल साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघका पदाधिकारीहरुसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा करिब ३ घण्टा छलफल गरेर ३ जना मन्त्रीहरु मन्त्रिपरिषदको बैठकमा बालुवाटार जानु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया