छ कठ्ठा जग्गामा गरिएकाे तरकारी खेतीबाट वार्षिक तीन लाख आम्दानी

524 Shares

कैलाली । कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यवसायिकरूपमा सागसब्जीखेती गर्दै आएका छन् । 

जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आएका छन् । विगत १५ वर्षदेखि व्यवसायिकरुपमा सागसब्जी खेती गर्दै आएको बताउँदै उनले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिए । 

उनले भने, “छ कठ्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।” उनले जैविक  मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताए । 

सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उनले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिए । सागसब्जी खेतीबाट मनग्गे आम्दानी हुने उनले बताए। 

सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यवसायिक सागसब्जी खेती गर्दै आएको बताए। उनले भने, “आम्दानी प्रशस्त हुन्छ । सागसब्जी खेतीबाट वार्षिक दुई लाख बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।”रासस