काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकातिर दक्षिण—पूर्व—पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सीमाना जोडिएको चीन रहेको बताउनु भयो । चीनसँगको सीमाना हिमालले पर्खाल सरह काम गरेको भएपनि भारतसँग खुला सीमाना रहेको बताउनु भयो । भारतसँग विगतमा भएका सन्धी, सम्झौताहरु अद्यावधि हुन नसकेको उहाँले बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधिनता, स्वाभिमानको लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताउँदै नेपालको राजनीतिमा अनेक ढंगले समस्याहरु छन् भन्ने हिसाबले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोशिस भइरहेको बताउनु भयो । उहाँले एमाले जहिले पनि प्रतिकुलतासँग जुध्दै अघि बढेको पार्टी भएको जिकिर गर्नुभयो । एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउनको लागि चौतर्फी कोशिश भइरहेको बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारी नेपालका कम्युनिष्ट पार्टीहरुभन्दा पनि ज्येष्ठ कम्युनिष्ट भएको बताउनु भयो । मनमोहन अधिकारी कम्युनिष्ट पार्टीहरुको अभिभावक भएको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया