सूचना प्रविधिको पूर्वाधार निर्माणमा एक सय खर्ब लाग्ने आँकलन

314 Shares

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय लक्ष्य हासिल गर्ने ठूला आयोजनाका पूर्वाधार निर्माण गर्न ठूलो रकम आवश्यक भएको बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ पेश गर्दै उहाँले यस्तो बताउनुभएको छ । विश्वमा पूर्वाधार विकासको तिब्र प्रतिष्पर्धा भइरहेको बताउँदै उहाँले नेपालमा सूचना प्रविधिको बढ्दो पहुँचका कारण नागरिकको अपेक्षाअनुसार पूर्वाधार निर्माणमा आगामी दश वर्षमा एक सय खर्बभन्दा बढी रकमको आवश्यकता हुने बताउनु भयो । 

उहाँले पूर्वाधार विकासमा लाग्ने आर्थिक व्यवस्थापन गर्न लगानीको नयाँ स्रोत खोजी गर्नुपर्ने बताउँदै सरकारले १६ औँ योजनामा राखेको ४० हजार मेगावाट विद्युत उत्पादनका लागि ठूलो रकमको आवश्यक हुने बताउनु भयो । औद्योगिक क्षेत्र, सडक, सिंचाई, खानेपानीलगायतका पूर्वाधार निर्माणका लागि आवश्यक लगानीका स्रोत खोज्न आवश्यक भएको उहाँको भनाइ छ ।

अर्थमन्त्री पौडेलले रोजगारी प्रवर्द्धन, दीगो आर्थिक विकास तथा पूर्वाधार परियोजनाका लागि दिगो लगानीको स्रोत व्यवस्थापनको कानूनी आधारका निर्माण गर्न ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, २०८१ ल्याउन लागिएको बताउनु भयो ।