काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नयाँ नापी ऐन ड्राफ्ट भइसकेको बताउनुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासङ्घको तेस्रो स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री अधिकारीले ड्राफ्ट भइसकेको नयाँ ऐनलाई मन्त्रालयमा छलफल गरी सरोकारवाला सबैको लागि खुला गर्ने बताउँदै सबैको सुझाव लिएर अगाडि बढ्ने बताउनु भयो ।
उहाँले भूमिसम्बन्धी नयाँ ऐन निर्माणको लागि मन्त्रालयले समिति गठन गरेकोसमेत जानकारी दिनुभयो । उक्त समितिले विज्ञहरूलाई समावेश गरेर काम थाल्नेसमेत जिकिर गर्दै विज्ञहरूले गरेको ड्राफ्टलाई सरोकारवालासँग छलफल गरी त्यसलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्को बैठक हुँदै संसदमा पठाउने बताउनु भयो । मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले एघार वटा नयाँ ऐन बनाउनको लागि सम्बन्धित निकायलाई निर्देशन दिएकोसमेत जिकिर गर्नुभयो ।
मन्त्री अधिकारीले रियल स्टेट व्यवसाय विदेशी मुलुकमा प्रतिष्ठित उद्योगको रूपमा विकास भएपनि नेपालमा अझै प्रतिष्ठित उद्योगको रूपमा देखा पर्न नसकेको बताउनु भयो । उहाँले नेपाल जग्गा तथा आवास विकास महासङ्घको स्थापना भएको तिस वर्ष पुगे पनि नेपाल अन्य मुलुकको तुलनामा पछाडि रहेको जिकिर गर्नुभयो । घरजग्गा तथा आवासको व्यवसाय गर्ने निकायहरूले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश छर्न नसकिएको बताउनु भयो । उहाँले घर जग्गा व्यवसायीहरूले आफ्नो फाइदाको लागि मात्रै काम गर्छन् भन्ने भ्रमलाई चिर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया