रसुवा बाढीपीडितको उद्धार र पुनर्निर्माणका लागि रवि धितालद्वारा एक करोड ११ लाखभन्दा बढी सहयोग

48 Shares

काठमाडौं । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले व्यवसायी रवि शर्मा धितालले नेपाल सरकारलाई रु. १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोग उपलब्ध गराउनुभएको छ।

झापाको बिर्तामोडस्थित होटल किङ्सबेरी, धुलाबारीस्थित क्यासिनो भेगास, भैरहवास्थित क्यासिनो टाइगर प्यालेस तथा बिर्तामोडस्थित क्यासिनो सेभेन हर्सेसका अध्यक्षसमेत रहनुभएका धितालले भाद्र १६ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकमको चेक सरकारलाई हस्तान्तरण गर्नुभएको हो।

रसुवामा भाद्र १० गते अचानक आएको भीषण बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण सडक तथा पुललगायतका यातायात पूर्वाधारमा क्षति पुग्नुका साथै जलविद्युत् आयोजना, स्थानीय बजार, घर तथा अन्य संरचनासमेत प्रभावित भएका छन्।

अचानक आएको बाढीले कतिपय क्षेत्रमा आवागमन अवरुद्ध हुनुका साथै स्थानीयवासीको दैनिक जनजीवनसमेत प्रभावित बनेको थियो। विपद्का कारण केही नागरिकले ज्यान गुमाएका छन् भने धेरै परिवार विस्थापित तथा प्रभावित भएका छन्। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन ठूलो स्रोत आवश्यक पर्ने अवस्था देखिएको छ।

यही परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सहयोग गर्न उद्योगी, व्यवसायी तथा सर्वसाधारणसँग आग्रह गर्दै आएको छ। सरकारको उक्त आह्वानअनुसार धितालले आफ्नो तर्फबाट सहयोग रकम उपलब्ध गराउनुभएको हो।

रकम हस्तान्तरणपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष धितालले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले विपद्का कारण घाइते तथा प्रभावित भएकाहरूको शीघ्र स्वास्थ्यलाभ र सहज जनजीवनको कामना पनि गर्नुभयो।

धितालले विपद्को समयमा सरकारको राहत तथा पुनर्निर्माण अभियानमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार विपद् कुनै व्यक्ति, संस्था वा समुदाय विशेषको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती हो।

“प्राकृतिक विपद्को यस्तो कठिन अवस्थामा मानवीय नाताले प्रभावित नागरिकलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो,” उहाँले भन्नुभयो।

उहाँले आफूले उपलब्ध गराएको सहयोग रकमबाट बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा केही योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष धितालले अन्य उद्योगपति, व्यवसायी, सामाजिक संघसंस्था तथा आर्थिक रूपमा सक्षम सर्वसाधारणलाई पनि आ–आफ्नो क्षमताअनुसार सरकारको विपद् व्यवस्थापन तथा राहत कोषमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

उहाँले विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा क्षतिग्रस्त सडक, पुल, जलविद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणमा समेत सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिकको संयुक्त प्रयासबाट मात्र विपद्पछि प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सकिने भएकाले सहयोगको भावना अझ विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

रसुवा बाढीबाट भएको क्षतिको पुनर्मूल्यांकन, प्रभावित परिवारको पुनर्स्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणका लागि आगामी दिनमा थप स्रोत र सहकार्य आवश्यक पर्ने देखिएको छ। यस्तो अवस्थामा धितालले गरेको आर्थिक सहयोगलाई निजी क्षेत्रबाट विपद् राहत तथा पुनर्निर्माण अभियानमा गरिएको महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ।