नेपालले आज  टी–२० विश्वकप छनोटमा कतारसँग खेल्दै

48 Shares


काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै छ ।

ओमान क्रिकेट एकेडेमीमा आज राति पौने ९ बजे नेपाल र कतारबीचको खेल हुनेछ ।

नेपालले शीर्ष–६ को दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले हिजो यूएईलाई एक रनले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष–६ मा छनोट हुँदा २ अंक बटुलेको नेपालको खातामा यूएईसँगको जितसँगै ४ अंक भएको छ ।

यूएईविरूद्धको जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना बलियो पनि बनेको छ । शीर्ष स्थानको ओमानको पनि ४ अंक नै छ ।

अब दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

सुपर–६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।