इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले

28 Shares

एजेन्सी । इजरायल र हमास लडाकु समूहबीच युद्धविराम घोषणापछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो घर बस्तीमा फर्कनेको लर्को लाग्न थालेको छ । 

बीबीसीका अनुसार, गाजा शहरबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्किन थालेका बीबीसीले जनाएको छ । 

कतिपय विस्थापितहरू आफ्ना सरसामान बोकेर २० किलोमिटरभन्दा लामो पैदल यात्रा गरी उत्तरी गाजातर्फ फर्किरहेका छन् ।

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकको फिर्तीको तयारीका लागि सैन्य कारबाही बन्द गरेको जनाएको छ ।

दुई वर्षसम्मको युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकका परिवारमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आश जागेको छ ।

इजरायलले रिहा गर्ने योजना बनाएका दुई सय ५० जनासहित एक हजार सात सय प्यालेस्टिनी कैदीको सूची सार्वजनिक गरेको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ । 

हमासको नियन्त्रणमा रहेका बन्धकहरु छिट्टै रिहा हुने छन् । बन्धकमध्ये २० जना मात्रै जीवित छन् ।

तर अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जारी गरेको सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच युद्धविराम र बन्धक साटासाटको सम्झौतामा बुधबार सहमति भएको हो । 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारवाही थालेको थियो ।