
काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि यूएईमा शुरू हुँदैछ ।
पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो ।
वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो ।
नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर पनि छ । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा दुई वटा मात्र जितेको छ ।
नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा पाँच वटा जितेको छ ।
ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ ।
शृङ्खलाको दोस्रो खेल पर्सि सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।
खेलअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले यो ऐतिहासिक अवसर रहेको बताएका छन् ।
त्यस्तै वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
नेपालले आयोजना गरेको यो शृङ्खलाको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया