
काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ ।
एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’ का रूपमा स्तरोन्नति गर्ने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट हस्पिटल’ का रूपमा ‘तेस्रो फेज’का लागि थप दुई सय शैय्या बनाउने जानकारी दिनुभएको छ ।
यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शैय्या बनाएको थियो ।
कार्यकारी निर्देशक प्रा डा रेग्मीका अनुसार चीन सरकारकोे नेपालमा भवन निर्माण परियोजना हेर्ने टोलीले सम्भाव्य अध्ययन गरी भर्खरै फर्किएका छन् ।
नेपाल र चीन सरकारबीच कर्मचारी अस्पताललाई स्तरोन्नति गर्ने सम्झौता भइसकेको जानकारी दिनुभयो । चीन सरकारले नै निजामती अस्पतालाई विशिष्टीकृत सेवासहितको अस्पताल र शैक्षिक कार्यक्रमको पनि बढाउनुपर्दछ भनेर नै स्तरोन्नति गर्न थालेको बताउनुभयो ।
उहाँले चिनियाँ टोलीले चीनमा गएर प्रतिवेदन बुझाएलगत्तै भवन निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।
उहाँका अनुसार अस्पताल खुला ठाउँमा व्यवस्थित र उपचार सेवा राम्रो भएकाले चीन सरकारले अस्पतालको स्तरोन्नति गरिदिने भएको हो । यस्तै, नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार नै अबको एक वर्षभित्र निर्माणको काम सुरु हुने र स्टेट अफ आर्ट बिल्डिङ बन्ने जानकारी दिनुभयो ।
दुई सय शय्याको अत्याधुनिक भवन अहिले अस्पताल प्रशासनको रहेको भवन भत्काएर बन्ने छ । नयाँ अत्याधुनिक भवन बनेपछि ५०० शय्याको अस्पताल बन्ने छ । सरकारले अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । अस्पताललाई सुरुदेखि नै चीन सरकारले निर्माण गर्दै आइरहेको छ ।
नयाँ अत्याधुनिक भवनमा एमआरआई, नयाँ सिटीस्क्यान खरिद राखिनाका साथै उच्च प्रविधि जडान गरिने कार्यकारी निर्देशक डा रेग्मीले जानकारी दिनुभयो ।
अस्पतालमा अहिले ४०० जना बहिरङ्ग सेवाको क्षमता भए पनि एक हजार जना बिरामीको उपचार गर्न आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा मुटु, क्यान्सरजस्ता रोगको विशिष्टीकृत विशेषज्ञद्वारा उपचार गरिन्छ ।
अस्पतालमा मुटुको उपचारका लागि ‘क्याथल्याब’को सेवा सुरु तयारी गरेको उहाँले बताउनुभयो । यो वर्षभरिमा क्याथल्याब स्थापना गरेर आगामी वैशाखदेखि क्याथल्याब सञ्चालन गर्ने बताउनुभयो ।
यसैगरी, कार्यकारी निर्देशक डा रेग्मीले क्यान्सरको सेवालाई ‘ब्राकीथेरापी’ सेवा पनि सुरु गर्ने तयारी गरेको छ ।
कार्यकारी निर्देशक डा रेग्मीले अस्पताललाई ‘पूर्ण डिजिटिलाइजेसन’मा लैजानका लागि यस वर्ष आधार तयार गर्ने र अर्को वर्ष कार्यान्वयनमा लैजान जानकारी दिनुभयो ।
यसैगरी, अस्पतालले महिलाको आङ खस्ने र महिलाको पिसाब चुहिने समस्याको उपचारका लागि राष्ट्रिय केन्द्र (रेफरल अस्पताल)का रूपमा विकास गर्ने थालिएको उहाँको भनाइ छ ।
सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने गरेको उहाँले बताउनुभयो ।
यस्तै, अस्पतालले प्रतिष्ठान बनाउने तयारी गरेको छ । अहिले प्रतिष्ठान नभएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर चिकित्साका कक्षा सञ्चालन गरिरहेको छ । अस्पतालमा अहिले दैनिक एक हजार बिरामी उपचारका लागि आउने गर्दछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया