हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

7 Shares

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार आज दिउँसो करिब १ बजे हात्तीले आक्रमण गर्दा श्रेष्ठको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए। सोही क्रममा हात्तीले उनीमाथि आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन्। घटनाका बेला उनीसँगै रहेका उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

पछिल्लो एक सातादेखि हात्तीको ठूलो बथान रुपनी गाउँपालिकामा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। बस्ती आसपास हात्तीको आवतजावत बढेपछि स्थानीयमा डर र असुरक्षाको अवस्था सिर्जना भएको छ। हात्तीको आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीयवासी थप चिन्तित बनेका छन्।

यसअघि गत कात्तिक २९ गते पनि सप्तरीमै हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको थियो।

पछिल्लो घटनासहित सप्तरीमा हात्तीको आक्रमणबाट छोटो अवधिमै दुई जनाको मृत्यु भएको छ। बस्तीमा हात्तीको बथान प्रवेश गर्ने र मानवीय क्षति हुने घटना दोहोरिएपछि स्थानीयको सुरक्षा तथा हात्तीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।