आज महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, विश्वभर विविध कार्यक्रम आयोजना गरिँदै

9 Shares

काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने, पीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्ने र लैङ्गिक समानताका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।

महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि प्रभावकारी कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ। यस दिवसले हिंसाका घटनाप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुका साथै हिंसा रोकथामका लागि सरकार, नागरिक समाज र समुदायको साझा जिम्मेवारीलाई स्मरण गराउने गरेको छ।

यसैबीच, महिला तथा बालिकामाथि हुने हिंसाको भयावह अवस्था देखाउने तथ्याङ्क सार्वजनिक भएको छ। विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो सङ्ख्या दैनिक औसत १३७ जना हो। तथ्याङ्कले महिला तथा बालिकाको सुरक्षा र हिंसा रोकथामका क्षेत्रमा विश्वव्यापी चुनौती अझै गम्भीर रहेको देखाउँछ।

प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था भएको उल्लेख गरेको छ। यस्ता घटना प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिने गरेको प्रतिवेदनमा औँल्याइएको छ। यसले हिंसालाई केवल व्यक्तिगत वा पारिवारिक विषयका रूपमा नभई सामाजिक संरचना र मानव अधिकारसँग जोडिएको गम्भीर समस्याका रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखाएको छ।

महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयास

महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो। उक्त महासन्धिले महिला अधिकार संरक्षण र लैङ्गिक समानताको अन्तर्राष्ट्रिय आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो। यस घोषणापत्रले महिलाविरुद्ध हुने हिंसालाई मानव अधिकारको विषयका रूपमा स्थापित गर्दै यसको रोकथाम र अन्त्यका लागि राज्य तथा समाजको दायित्वलाई जोड दिएको थियो।

महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन्। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो।

यस घटनालाई महिला अधिकार र राजनीतिक स्वतन्त्रताका लागि भएको संघर्षको प्रतीकका रूपमा स्मरण गरिँदै आएको छ। पछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो। त्यसयता सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थालाई यस दिन चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ।

१६ दिने अभियानमार्फत हिंसाविरुद्ध साझा प्रतिबद्धताको सन्देश

नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। यस अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ।

अभियानका क्रममा महिला हिंसाका कारण, स्वरूप र प्रभावबारे जनचेतना फैलाउने, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने र हिंसाविरुद्ध सामाजिक उत्तरदायित्व बढाउने विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ। हिंसा सहनु नपर्ने वातावरण निर्माण गर्न परिवारदेखि राज्यका निकायसम्म सबैको सक्रिय भूमिका आवश्यक रहेको अभियानको मूल सन्देश छ।

महासचिव गुटेरेसको न्याय सुनिश्चित गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको बताएका छन्। उनले हिंसा अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन विश्व समुदायलाई आह्वान गरेका छन्।

यस दिवसका अवसरमा जारी सन्देशमा महासचिव गुटेरेसले हिंसापीडित महिलालाई आवश्यक संरक्षण र सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। उनले पीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउनुका साथै दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन्।

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने प्रतिबद्धतालाई पुनः स्मरण गराएको छ। हिंसाविरुद्ध कानुनी व्यवस्था निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन, पीडितको संरक्षण, न्यायमा सहज पहुँच र समाजको सोचमा परिवर्तन आवश्यक रहेको यस दिवसको सन्देश छ। महिला तथा बालिकाले भय र भेदभावबिना सुरक्षित जीवन बिताउन पाउने वातावरण निर्माण गर्नु विश्व समुदायको साझा जिम्मेवारी हो।