म्याग्दी । म्याग्दी नदीको बाढीले कटान गरी मालिका गाउँपालिका–६ बालौटेमा अवरुद्ध भएको बेनी–दरवाङ सडकको मर्मत करिब दुई महिनापछि सुरु भएको छ ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरवाङ सडकमा क्षति पुर्याएको थियो ।
बाढीले सडक भत्काउनुका साथै बस्तीसमेत जोखिममा पारेको थियो । नदी कटानका कारण दुखुबेँसीको फेदीमा रहेको करिब १०० मिटर सडक भत्किएको छ भने पहिरो बस्तीनजिकै पुगेको छ ।
पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको साझेदारीमा सडक मर्मतको काम अघि बढाइएको हो । पूर्वाधार विकास कार्यालयको प्रक्रियागत ढिलाइप्रति दुखुखोलाका बासिन्दाले असन्तुष्टि जनाउँदै कटान नियन्त्रण र बस्ती संरक्षणको सुनिश्चितता गर्न माग गरेका छन् । कार्यालयले भने ग्याभियन पर्खाल निर्माणका लागि आवश्यक ढुङ्गा जुटाउन समस्या हुँदा काममा ढिलाइ भएको जनाएको छ ।
सडक मर्मतका लागि गण्डकी प्रदेश सरकारले अस्थायी रूपमा २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नन्दप्रसाद न्यौपानेले कात्तिक तेस्रो साता पहिरो प्रभावित सडकको निरीक्षण गर्दै नदी नियन्त्रण र बस्ती संरक्षणका लागि थप दुई करोड रुपैयाँभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि पूर्वाधार विकास कार्यालयले मर्मतको प्रक्रिया अघि बढाएको थियो ।
तिहारअघि डोजर परिचालन गरी म्याग्दी नदीको धार परिवर्तन गराइएको भए पनि बालौटेको छिमेकी सहश्रधाराका बासिन्दाले ग्याभियन जाली भर्न आवश्यक ढुङ्गाको स्रोतमा अवरोध गरेपछि अपेक्षाअनुसार काम हुन नसकेको कार्यालयले जनाएको छ । सडक मर्मतलाई तीव्रता दिन ढुङ्गाको स्रोत व्यवस्थापनका लागि मालिका गाउँपालिकासँग समन्वय गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बताए ।
मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गा जलविद्युत् आयोजनाका डोजर र ढुवानीका साधन परिचालन गरी ग्याभियन जालीमा भर्ने र अस्थायी रूपमा सडक मर्मत गर्ने सहमति भएको छ । म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत् आयोजनाले संयुक्त रूपमा सडक मर्मतका लागि उपकरण परिचालन गरेका छन् ।
म्याग्दी क्षेत्र नं। १ ९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०ले सडक मर्मतको कामलाई तीव्रता दिन मालिका गाउँपालिका, पूर्वाधार विकास कार्यालय र जलविद्युत् आयोजनालाई ताकेता गरिएको बताए । बालौटेसँगै सिम–ताराखेत खण्डमा पनि म्याग्दी नदीले कटान गरेको सडक पुनर्निर्माणका लागि प्रदेश सरकारसँग पहल गरिएको उनले जानकारी दिए ।
अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा बालौटेमा कटान भई सडक भत्किएको थियो । त्यसपछि बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ । दुखुखोलामा ह्युमपाइप राखेर तत्कालका लागि दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिए पनि दीर्घकालीन समाधानका लागि सडक मर्मत र बस्ती संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग छ ।
साँघुरो, कच्ची र ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकअर्कालाई बाटो दिन पर्याप्त ठाउँ छैन । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने भएकाले यो सडकमा सवारी चाप बढी हुने गरेको छ । त्यसमाथि म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चापसमेत यही सडकमा पर्ने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया