गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

7 Shares

काठमाडौं । पछिल्लो समय खेतीयोग्य जमिन बाँझिने र युवा पुस्ता वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला म्याग्दीका एक किसानले पुख्र्यौली खेतीकिसानीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरी कृषि पेसाबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

बाउबाजेको पालादेखि निरन्तर खेतीकिसानी गर्दै आएका भण्डारीले २३ रोपनी जग्गामा स्थानीय रैथाने जातका गौरिया र जेठोबुढो धान खेती गर्दै आएका छन् । विशेषगरी स्वाद र बास्नाका कारण बजारमा राम्रो माग रहेको गौरिया धानबाट चामल उत्पादन गरी बिक्री गर्दा उनले राम्रो आम्दानी गर्दै आएका हुन् ।

भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । यस वर्ष उत्पादन भएको ७० मुरी धानमध्ये ६० मुरी आफ्नै खेतमा उत्पादन गरेको र १० मुरी अधियाँमा खेती गरेर प्राप्त गरेको भण्डारीले बताए ।

उनका अनुसार यस वर्ष बिक्रीका लागि ४५ मुरी गौरिया धान भकारीमा भण्डारण गरिएको छ भने घरायसी उपभोग र आफन्तलाई कोसेली पठाउन २५ मुरी जेठोबुढो धान उत्पादन गरिएको छ ।

“गौरिया धानको बास्ना राम्रो आउँछ र उत्पादन पनि राम्रो हुन्छ । यस वर्ष बिक्रीका लागि ४५ मुरी गौरिया धान भकारीमा भण्डारण गरेको छु,” भण्डारीले भने, “घरायसी उपभोग र आफन्तलाई कोसेली पठाउन २५ मुरी जेठोबुढो धान फलाएको छु ।”

उत्पादित धानलाई घुन, मुसा तथा अन्य किराबाट जोगाउन भण्डारीले परम्परागत भण्डारण विधिसमेत अपनाउँदै आएका छन् । उनले काठको बाकस बनाएर त्यसको बाहिरी भाग गोबरले टाल्ने र सुरक्षित रूपमा धान भण्डारण गर्ने गरेका छन् । यसरी भण्डारण गर्दा लामो समयसम्म धान सुरक्षित राख्न सहयोग पुग्ने उनको अनुभव छ ।

घरमै मिल सञ्चालन गरेर चामल बिक्री

भण्डारीले खेतमा उत्पादन गरेको धान घरमै रहेको विद्युतीय मिलबाट कुटेर चामल बिक्री गर्दै आएका छन् । बजारमा गौरिया चामलको माग राम्रो रहेकाले उनले बिचौलियामार्फत नभई सकेसम्म सिधै उपभोक्तासम्म चामल पुर्‍याउने गरेका छन् ।

उनका अनुसार बेनी, पोखरा, काठमाडौं र दरवाङसम्म गौरिया चामलको माग आउने गरेको छ । प्रतिपाथी एक हजार रुपैयाँका दरले चामल बिक्री गर्दै आएका भण्डारीले वार्षिक पाँच सय पाथीसम्म चामल बिक्री हुने गरेको बताए ।

पछिल्लो समय यातायात तथा सञ्चार सुविधाको विस्तारले ग्रामीण क्षेत्रमै बसेर कृषि उत्पादनको बजार खोज्न र व्यापार गर्न सहज भएको उनकी बुहारी गीता सुवेदी भण्डारी बताउँछिन् ।

“पहिले चामल बोकेर बजार पुर्‍याउनुपर्थ्यो । अहिले फोनबाटै माग आउँछ । गाडीमा पठाइदिन्छौँ र उपभोक्ताले बैंक खातामा पैसा जम्मा गरिदिनुहुन्छ,” उनले भनिन् ।

उनका अनुसार अहिले विभिन्न सहरबाट नियमित रूपमा चामलको माग आउने गरेको छ । यसले गाउँमै उत्पादन भएको स्थानीय रैथाने चामललाई बजारसम्म पुर्‍याउन सहयोग गरेको छ ।

स्वाद र बास्नाले बजारमा लोकप्रिय गौरिया चामल

म्याग्दीको मौलिक रैथाने बालीका रूपमा परिचित गौरिया धान विशेष स्वाद, पाक्दा आउने विशिष्ट बास्ना र आडिलो भातका कारण उपभोक्तामाझ लोकप्रिय छ । यही विशेषताका कारण गौरिया चामल व्यापारी, उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, राजनीतिज्ञ तथा विभिन्न विशिष्ट व्यक्तिको रोजाइमा पर्ने गरेको स्थानीय किसान बताउँछन् ।

मङ्गला गाउँपालिकाका छिस्वाङ, रणवाङ, पीपलबोट, सेराफाँट, कुरसिम्ला, खोप्ती, तल्लोपोक, बाबियाचौर, सिमलचौर, सातबिसे, सिम र कोत्रवाङ क्षेत्रमा गौरिया धानको खेती हुँदै आएको छ ।

स्थानीय किसान छविलाल सापकोटाका अनुसार पीपलबोट र सेराफाँटका किसानले सरदर ४० मुरीसम्म धान उत्पादन गर्ने गरेका छन् । उनका अनुसार यस क्षेत्रबाट वार्षिक करिब दुई हजार पाँच सय मुरी गौरिया धानको चामल बिक्री हुने गरेको छ । स्थानीय प्रचलनअनुसार एक मुरीमा २० पाथी हुन्छ ।

म्याग्दी नदीको तटीय क्षेत्रका गैरीखेतमा खेती गरिने भएकाले यस धानको नाम गौरिया रहन गएको स्थानीय किसानको भनाइ छ । पुस्तौँदेखि खेती हुँदै आएको गौरिया धान म्याग्दीको कृषि पहिचान र स्थानीय उत्पादनको महत्त्वपूर्ण हिस्सा बनेको छ ।

खेतीबाटै छोराछोरीलाई उच्च शिक्षा

चक्रपाणि भण्डारीले कृषि पेसाबाट प्राप्त आम्दानीले घरव्यवहार सञ्चालन गर्नुका साथै एक छोरा र दुई छोरीलाई उच्च शिक्षासमेत प्रदान गरेका छन् । वैदेशिक रोजगारीमा नगई आफ्नै गाउँमा बसेर पुख्र्यौली पेसालाई निरन्तरता दिएका भण्डारीको सफलताले स्थानीय किसानलाई पनि खेतीकिसानीबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेका बेला भण्डारी परिवारले निरन्तर गरेको व्यावसायिक धानखेती स्थानीय स्तरमा उदाहरणीय बनेको छ । स्थानीय शिक्षक रेशमलाल सापकोटाका अनुसार भण्डारी परिवारको कृषि कर्म र व्यावसायिक सफलताले अन्य किसानलाई पनि बाँझो जमिनको सदुपयोग गर्दै खेती गर्न प्रेरित गरेको छ ।

यद्यपि, पछिल्लो समय कृषि क्षेत्रमा श्रमिक अभाव मुख्य समस्याका रूपमा देखिन थालेको भण्डारीको अनुभव छ । विशेषगरी रोपाइँ र बाली भित्र्याउने समयमा आवश्यक श्रमिक नपाउँदा खेतीको लागत बढ्दै गएको र आम्दानीबाट हुने बचत घट्दै गएको उनले बताए ।

उनले आफ्ना छोरानातिले पनि आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै उर्वर जमिनको सदुपयोग गरी खेतीकिसानीलाई निरन्तरता दिऊन् भन्ने चाहना राखेका छन् ।

ग्रामीण क्षेत्रमा कृषि पेसालाई बेवास्ता गर्दै वैदेशिक रोजगारीप्रति आकर्षण बढिरहेका बेला ६१ वर्षीय चक्रपाणि भण्डारीले पुख्र्यौली खेतीलाई व्यावसायिक रूप दिँदै हासिल गरेको सफलता उदाहरणीय बनेको छ । स्थानीय रैथाने बालीको संरक्षण, उत्पादनको बजारीकरण र आधुनिक प्रविधिको प्रयोग गर्न सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभवले देखाएको छ ।

म्याग्दीको गौरिया धान र त्यसबाट उत्पादन हुने चामलको बजार विस्तार गर्न सके स्थानीय किसानको आम्दानी बढ्नुका साथै रैथाने कृषि उत्पादनको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।