२२ वर्षपछि हुने सम्यक महादानको तयारीमा जुट्यो काठमाडौं महानगर, भुइख्याः क्षेत्रको निरीक्षण

8 Shares

काठमाडौं । २२ वर्षपछि आयोजना हुन लागेको सम्यक महादानलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले परम्परागत धार्मिक स्थल तथा संरचनाको संरक्षण र व्यवस्थापकीय तयारी अघि बढाएको छ ।

आगामी माघ १ गते आयोजना गर्ने तयारी गरिएको सम्यक महादानको पूर्वतयारीस्वरूप महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार भुइख्याः क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा डंगोलले सम्यक महादानका लागि आवश्यक स्थान पहिचान, परम्परागत विधिअनुसार प्रयोग हुँदै आएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनको योजनाबारे अध्ययन गरिएको बताइन् । सदियौँदेखि भुइख्याःमा हुँदै आएको सम्यक महादानको परम्परालाई निरन्तरता दिन महानगरले तयारी गरिरहेको उनको भनाइ छ ।

डंगोलका अनुसार विगतमा खुला मैदान रहेको भुइख्याः क्षेत्रमा अहिले घर तथा सडक निर्माण भइसकेकाले परम्परागत गतिविधि सञ्चालनका लागि स्थान व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । त्यसैले धार्मिक विधि, परम्परा र सांस्कृतिक मूल्य नमासिने गरी अहिलेको भौतिक संरचना तथा परिस्थितिअनुसार व्यवस्थापन गर्ने योजना बनाइएको उनले बताइन् ।

निरीक्षणका क्रममा सम्यक महादानसँग सम्बन्धित खाना पकाउने, पातको काम गर्ने तथा भगवान् राख्ने छुट्टाछुट्टै परम्परागत स्थानको अवस्थाबारे प्राविधिक टोलीसहित अध्ययन गरिएको थियो । विगतमा महादान आयोजना गर्दा कुन स्थानमा कस्ता गतिविधि सञ्चालन हुन्थे भन्ने जानकारी लिन ज्येष्ठ तथा अनुभवी व्यक्तिहरूसँग पनि परामर्श गरिएको डंगोलले बताइन् ।

उनका अनुसार कतिपय परम्परागत स्थानमा नयाँ संरचना निर्माण भइसकेका छन् भने केही स्थानको स्वरूपसमेत परिवर्तन भएको छ । यस्तो अवस्थामा पुराना धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनका लागि छुट्याइएका स्थानको संरक्षण गर्दै पुनः प्रयोगमा ल्याउने विषयलाई महानगरले प्राथमिकता दिएको छ ।

सम्यक महादानका क्रममा खाना पकाउने स्थानका विषयमा प्रहरी चौकीसँग पनि छलफल गरिएको डंगोलले जानकारी दिइन् । प्रहरी चौकीमा खाना पकाउने परम्परागत व्यवस्था रहेकाले सम्बन्धित प्रहरी अधिकारीहरूसँग छलफल गरिएको र त्यसका लागि प्रहरी प्रशासनबाट सकारात्मक सहयोगको प्रतिबद्धता आएको उनले बताइन् ।

त्यस्तै, पातको काम हुने स्थानको अवस्थाबारे पनि निरीक्षण गरिएको छ । समयक्रमसँगै भौतिक संरचना र पूर्वाधारमा परिवर्तन भएकाले पुरानो परम्परालाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ ।

डंगोलले तयारीका लागि महानगरपालिकाको प्राविधिक तथा सांस्कृतिक टोली परिचालन गरिएको बताइन् । सांस्कृतिक पक्ष र भौतिक पूर्वाधारको अवस्थालाई छुट्टाछुट्टै अध्ययन गरी दुवै पक्ष समेटेर योजना बनाइने महानगरले जनाएको छ ।

स्थलगत निरीक्षणपछि परम्परागत धार्मिक अभ्यासलाई निरन्तरता दिन सकिने स्थान, आवश्यक पूर्वाधार र व्यवस्थापनका विषय समेटेर ठोस योजना तयार पारिनेछ ।

सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यस अवसरमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ । लामो समयपछि आयोजना हुन लागेको यस महादानले काठमाडौं उपत्यकाको बौद्ध सम्पदा, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।