आज प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

10 Shares

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः१५ बजे दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्ष, आपसी सहयोग, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, कनेक्टिभिटी तथा दुई देशबीचको आर्थिक सहकार्यलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। लामो समयदेखि कायम रहँदै आएको नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटवार्तापछि विभिन्न महत्वपूर्ण विषयमा सहमति तथा सम्झौता हुने कार्यक्रमसमेत रहेको छ। त्यसैगरी, दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा केही विकास आयोजना उद्घाटन गर्ने तयारी गरिएको छ। आयोजना उद्घाटनपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भेटवार्ता र संयुक्त आयोजना उद्घाटनलाई नेपाल–भारत सम्बन्धमा थप सहकार्य र साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई नयाँ गति दिने विषयमा यस भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको दिवाभोज कार्यक्रममा समेत सहभागी हुनेछन्। दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा हुने उक्त कार्यक्रममा आपसी सम्बन्ध, सहकार्य र आगामी साझेदारीका विषयमा अनौपचारिक छलफलसमेत हुन सक्नेछ।

प्रधानमन्त्री शाहले आजै भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भवनमा हुने भेटवार्तामा नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहयोगका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

त्यसअघि प्रधानमन्त्री शाह आज बिहान राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। राजघाटमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेपछि प्रधानमन्त्री शाहको अन्य औपचारिक भेटघाट तथा कार्यक्रम सुरु हुनेछ।

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्। त्यसैगरी, भ्रमण टोलीमा निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको छ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध लामो समयदेखि रहँदै आएको छ। भौगोलिक निकटता, खुला सीमा, व्यापारिक निर्भरता, ऊर्जा सहकार्य तथा पारवहन सुविधाका कारण दुवै देशबीचको सम्बन्धलाई विशेष महत्त्वका साथ हेरिँदै आएको छ।

यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय सम्बन्ध विस्तार, आपसी विश्वास अभिवृद्धि तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा हुने सहमति तथा सम्झौताले आगामी दिनमा नेपाल–भारत सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ।