मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन दलहरूले भुमिका खेल्नुपर्छः सहसंयोजक नेपाल

7 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिनको लागि राजनीतिक दलहरूले भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो जोड दिनुभएको हो । उहाँले अमेरिका लगायतका देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेश गरेको भन्दै आफूहरु आत्तिन नहुने समेत बताउनुभयो ।

उहाँले दलहरु र जनताबीचको दूरी कम गर्न लोकतान्त्रिक शक्तिहरुबीच सहकार्यको आवश्यक रहेको पनि बताउनुभयो । उहाँले मुलुकको आन्तरिक मामिलामा कुनैपनि देशले हस्तक्षेप नगरोस् भन्नका लागि समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरु रहेको पनि बताउनुभयो ।

उहाँले चीनले अंगालेको समाजवाद विश्वकै लागि अध्ययनको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने बताउनुभयो । उहाँले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामी समाजवादको पक्षमा छौँ, एक चीन नीतिको पक्षमा छौँ । हामी देशको आन्तरिक मामिलामा कुनैपनि देशले हात नहालुन् भन्ने पक्षमा रहेका छौँ । यही क्रममा अहिले चीनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय बैठकबाट एउटा महत्वपूर्ण निर्णय र प्रश्ताव पनि पारित गरेको छ । त्यसकारण चीनको समाजवाद विश्वको निम्ति अहिले अध्ययनको एउटा महत्वपूर्ण विषय समेत भएको छ ।

पार्टीदेखि राज्य सञ्चालनसम्मका चिनियाँ अनुभवहरु हाम्रो लागि पनि काम गर्ने कुरा नै हुन्छन् । यो सबै परिप्रेक्ष्यमा विश्वको राजनीति पनि सकारात्मक दिशामा गइराखेको छ भने देशको आन्तरिक राजनीति पनि अनावश्यक दलत दिशामा नजाओस् भन्ने सन्दर्भमा भूमिका खेल्नुपर्ने अवस्था छ । अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्ने केही पनि छैन । मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरुसँग समेत हातेमालो गदै अगाडि बढ्नुपर्छ ।

मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रुपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ । यसरी हामी वामपन्थी शक्तिहरुलाई मिलाउनको लागि पनि कोसिस गर्नेछौँ । हामी सबैसँग एकता गर्नेछौँ तर एकता गर्दा २०७५ साल जेठ ३ गतेको जस्तो नहोस् भन्ने कुरामा पनि विचार पुर्याउनेछौँ । पार्टी सञ्चालनको क्रममा रहेका गल्तीहरु सच्याउने काम पनि गर्नेछौँ ।’

उहाँले वामपन्थी शक्तिहरूबीच एकता प्रयास जारी राख्ने तर विगतको एकता प्रक्रियामा भएका कमजोरी दोहोरिन नदिन सचेत हुनुपर्ने समेत बताउनुभयो ।