विद्यालयलाई एआईमैत्री र प्रविधिसक्षम बनाउने प्रधानाध्यापक संघको प्रतिवद्धता

8 Shares

काठमाडौं । प्रधानाध्यापक संघ नेपालले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा र विद्यालय रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गरेको छ ।

जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनले ‘राष्ट्रिय विद्यालय रूपान्तरण प्रतिवद्धता–पत्र, २०८३’ जारी गर्दै विद्यालयलाई सुरक्षित, हरित, प्रविधिमैत्री, एआई (कृत्रिम बुद्धिमत्ता) सक्षम, समावेशी र सीपमूलक सिकाइ केन्द्रका रूपमा विकास गर्ने संकल्प गरेको हो ।

‘लेट्स बिल्ड बेटर स्कुल्स टुगेदर’ भन्ने नारासहित आयोजित सम्मेलनमा देशभरका करिव एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी थिए । संघले समयानुकूल संघीय शिक्षा ऐन निर्माण, प्रधानाध्यापकको नेतृत्व विकास, शिक्षक तथा विद्यालय कर्मचारीको पेशागत सम्मान, एआई तथा डिजिटल प्रविधिको प्रयोग विस्तार र गुणस्तरीय शिक्षामा जोड दिएको छ ।

त्यस्तै, विद्यालयमा विपद् जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार, जलवायु परिवर्तनसम्बन्धी शिक्षा, हरित विद्यालय अभियान तथा विद्यार्थीको जीवनोपयोगी र व्यावसायिक सीप विकासलाई प्राथमिकतामा राखेको छ ।

प्रतिवद्धतापत्रमा विद्यार्थी, अभिभावक र समुदायको सहभागिता बढाउने, विद्यालयका असल अभ्यास आदानप्रदान गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य विस्तार गर्ने विषय पनि समेटिएका छन् । प्रधानाध्यापक संघले प्रतिवद्धताहरू कार्यान्वयनको नियमित समीक्षा, अनुगमन तथा प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । साथै मधेस प्रदेशको शैक्षिक गुणस्तर र साक्षरता अभिवृद्धिका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्मेलनले विद्यालय रूपान्तरण कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट सम्भव नहुने निष्कर्ष निकाल्दै प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र सरकारको साझा प्रयास आवश्यक रहेको जनाएको छ ।