अर्घाखाँचीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

22 Shares

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका–१ स्यालेमा भएको दुर्घटनामा मोटरसाइकल चालक ४८ वर्षीय मुकुन्द चुँदालीको मृत्यु भएको हो । उनी सन्धिखर्क नगरपालिका–७ गच्छेका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फुडवाङबाट सन्धिखर्कतर्फ आउँदै गरेको रा १ त ५०३९ नम्बरको ट्याक्टरको पछाडि सोही दिशाबाट आइरहेको लु ६४ प ९८६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चुँदालीलाई उपचारका लागि अर्घाखाँची अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो ।

घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।