सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

22 Shares

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बिहीबार उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

चेक हस्तान्तरण कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल तथा अर्थ मन्त्रालयका सहसचिवलगायतको उपस्थिति थियो।

सुरक्षण मुद्रण केन्द्रले उक्त रकम आफ्नै आम्दानीबाट जुटाएर सहयोग गरेको जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन र उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको केन्द्रले जनाएको हो।

यसैबीच, केन्द्रले पछिल्लो एक वर्षमा संस्थागत तथा आर्थिक सुधार गर्दै आफ्नो काम गर्ने क्षमता विस्तार गरेको जानकारी दिएको छ। सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइका काममार्फत केन्द्रले सुरक्षण मुद्रणसम्बन्धी सेवा विस्तार गरेको जनाएको छ।

केन्द्रका अनुसार लामो समयदेखि बाँकी रहेको सवारी चालक अनुमतिपत्रको २७ लाख थान छपाइ छ महिनाभित्र सम्पन्न गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ। यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि ठूलो रकम विदेशी मुद्रामा खर्च गर्नुपर्ने अवस्था थियो।

अहिले स्वदेशमै अनुमतिपत्र छपाइ हुन थालेपछि विदेशी मुद्रा बचत हुनुका साथै सुरक्षण मुद्रण क्षेत्रमा नेपालको आफ्नै क्षमता विकास भएको केन्द्रको भनाइ छ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट, नागरिकता प्रमाणपत्रलगायतका उच्च सुरक्षणयुक्त कागजातसमेत नेपालमै छपाइ गर्ने तयारी भइरहेको छ।

अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको पनि ढुङ्गानाले जानकारी दिनुभयो।

राज्यका संवेदनशील कागजात स्वदेशमै छपाइ गर्दा तथ्याङ्क सुरक्षा र राष्ट्रिय सार्वभौमिकता सुदृढ हुने तथा विदेशी आपूर्तिकर्तामाथिको निर्भरता घट्ने उहाँको भनाइ छ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रको क्षमता विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको केन्द्रले आफ्नै आम्दानीबाट रकम जुटाएको जनाएको छ। साथै, स्वदेशमै उच्च सुरक्षणयुक्त कागजात छपाइ गर्ने क्षमता विस्तार गर्ने योजनालाई पनि अघि बढाएको छ।