काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले उचित समय र परिस्थिति निर्माण भएपछि पार्टी सडक आन्दोलनमा जाने टिप्पणी गर्नुभएको छ ।
बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । लोकतान्त्रिक व्यवस्थामा सडक जनताका आवाज र असन्तुष्टि अभिव्यक्त गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै उहाँले जनहितका पक्षमा पार्टी जुनसुकै बेला सडक आन्दोलनमा जानसक्ने तर्क गर्नुभयो । उहाँले सडक आन्दोलनलाई विध्वंसका रूपमा मात्र बुझ्न नहुने समेत बताउनुभयो ।
उहाँले सरकारका लोकतन्त्रविरोधी गतिविधिका विरुद्ध र जनता आवाज संयमित र शान्तीपूर्ण ढंगले राख्ने कुरामा पार्टी स्पष्ट भएको समेत बताउनुभयो । साथै, उहाँले पार्टीको विचार, संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमा एकीकृत रूपान्तरण आवश्यक रहेको समेत बताउनुभयो । उहाँले पार्टी जीवित रहेसम्म पुनर्गठनको मुद्दा नसकिने उहाँको भनाइ छ । उहाँले पार्टीको संगठनात्मक सुदृढिकरणसँगै आउने स्थानीय तहको निर्वाचनमा होमिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा आफ्ना आवाजहरूलाई राख्ने एउटा महत्वपूर्ण ठाउँ सडक पनि हो। संसद हो, जनप्रतिनिधिमूलक निकाय हो । सडक भन्ने बित्तिकै त्यो विध्वंस हुन्छ भन्ने होइन । सडकले पर्याप्त मात्रामा ध्यानाकर्षण गर्छ । सडकमा संयमित ढङ्गले, सभ्य ढङ्गले, शान्तिपूर्ण ढङ्गले एउटा लोकतान्त्रिक पार्टी जान्छ । त्यस आधारमा हामी पनि आवश्यक पर्यो भने सडकमा आफ्नो आवाज लिएर जान्छौँ, एउटा आन्दोलनको स्वरूप । अब त्यसका निम्ति उचित मुद्दाहरू छनोट हुन्छ । उचित समयको पनि छनोट हुन्छ, परिस्थिति पनि परिपक्व हुनुपर्दछ । त्यो सबै परिस्थिति निर्माण गर्ने काम नेकपा एमालेले गर्छ । पार्टी पुनर्गठनको मुद्दा पार्टी जीवित हुँदासम्म निरन्तर रुपमा चलिरहन्छ । यो केही सुमयय चलाउने र फेरी छोड्ने मुद्दा पनि होइन ।’
उहाँले पार्टी सुदृढिकरण र स्थानीय तह तथा प्रदेश निर्वाचनको तयारी समानान्तर रुपमा अघि बढाइने समेत बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया