काठमाडौं । देशका विभिन्न हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसममा आंशिक बदली भएसँगै केही पहाडी तथा तराईका भूभागमा समेत छिटपुट वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने तराईका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
मौसमविद् ढकालका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा समेत छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
यसैगरी, रातिको समयमा तराईका भूभाग, काठमाडौं उपत्यका तथा विभिन्न खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ । विशेषगरी हिमाली क्षेत्रमा यात्रा तथा पदयात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राखी सावधानी अपनाउनुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया