आधुनिक संस्कृतिको प्रभावले सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा हराउँदै

9 Shares

काठमाडौं । तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, पारिवारिक मिलन र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइने तिहारमा देउसीभैलोको विशेष महत्व रहँदै आएको छ । तर पछिल्लो समय चाडपर्व मनाउने शैलीमा आएको परिवर्तनसँगै सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा विस्तारै ओझेलमा पर्दै गएको छ ।

आधुनिक झिलिमिली बत्ती, डिजे, नयाँ प्रविधि तथा मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षणसँगै युवाको वैदेशिक रोजगारीका लागि पलायन र आन्तरिक बसाइँसराइले परम्परागत देउसीभैलोको रौनक घट्दै गएको स्थानीयवासीको अनुभव छ । कुनै समय गाउँघरका टोलटोलमा समूह बनाएर मौलिक भाकामा देउसीभैलो खेल्ने चलन अहिले विस्तारै कम हुँदै गएको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ । उनका अनुसार पहिले तिहार आउनासाथ गाउँघरमा छुट्टै उत्साह र चहलपहल देखिन्थ्यो । घरको मूलढोका, आँगन, तुलसीको मठदेखि गोठसम्म माटाका दियो बालेर उज्यालो बनाउने चलन थियो । साँझ परेपछि गाउँभरि दियोको प्रकाश फैलिन्थ्यो भने देउसीभैलोका मौलिक भाकाले वातावरणलाई थप रमाइलो बनाउँथे ।

त्यतिबेला गाउँका बालबालिका, युवा तथा वृद्धवृद्धासमेत देउसीभैलोमा सहभागी हुने गर्थे । समूहमा गीत गाउने, भट्याउने र सामूहिक रूपमा नाचगान गर्दै घरघर पुग्ने परम्पराले गाउँमा आपसी आत्मीयता बढाउने गरेको भट्ट सम्झिन्छिन् । तर अहिले माटाका दियोको स्थान आधुनिक झिलिमिली बत्तीले लिन थालेको र पुराना लोकभाका पनि कम सुनिन थालेको उनको भनाइ छ ।

त्यस्तै, नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवरलाई पनि विगतको देउसीभैलोको सामूहिक रमाइलोले अहिले पनि भावुक बनाउँछ । उनका अनुसार पहिले साथीभाइ मिलेर समूह बनाउने, गाउँका घरघरमा पुगेर मौलिक गीत गाउने र घरपरिवारले आफ्नो गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन थियो ।

यसरी सङ्कलन भएको अन्न र पैसाले देउसीभैलो खेल्ने साथीभाइ मिलेर रमाइलो गर्ने, आपसमा खुसी साटासाट गर्ने तथा सामूहिक भोजभतेरसमेत गर्ने गरिन्थ्यो । यसले गाउँमा आपसी सहयोग, मेलमिलाप र सामाजिक एकतालाई बलियो बनाउने गरेको कुँवरको अनुभव छ । तर अहिले आधुनिक मनोरञ्जनका माध्यम बढ्दै जाँदा पुरानो शैलीको देउसीभैलो र सामूहिक सहभागिता कम हुँदै गएको उनी बताउँछिन् ।

स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार परम्परागत देउसीभैलोमा स्थानीय लोकभाका, मौलिक शब्द, परम्परागत बाजागाजा र भट्याउने शैलीलाई विशेष महत्व दिइन्थ्यो । देउसीभैलोका गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि, उन्नति र सफलताको कामना गरिन्थ्यो । गीतका शब्द र भाकामा स्थानीय समाज, रहनसहन, संस्कृति र जीवनशैलीको झल्को पाइन्थ्यो ।

तर पछिल्लो समय देउसीभैलोका नाममा डिजेमा आधुनिक गीत बजाउने र त्यही गीतमा नाच्ने प्रवृत्ति बढ्दै गएको जैरुको भनाइ छ । यसले मनोरञ्जनको नयाँ शैली विकास गरे पनि मौलिक भाका, परम्परागत बाजागाजा र स्थानीय सांस्कृतिक पहिचान कमजोर बनाउँदै लगेको उनी बताउँछन् ।

देउसीभैलो केवल मनोरञ्जन गर्ने वा दक्षिणा सङ्कलन गर्ने माध्यममात्र होइन । यो नेपाली समाजको सामाजिक सद्भाव, आपसी सम्बन्ध, सामूहिक सहभागिता र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा हो । यसले गाउँघरमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न उमेर समूहका मानिसलाई एउटै ठाउँमा जोड्ने काम गर्दै आएको छ ।

देउसीभैलोका क्रममा गाइने मौलिक गीतमा धार्मिक आस्था, सामाजिक चेतना, पारिवारिक सम्बन्ध र शुभकामनाका भाव समेटिएका हुन्छन् । घरघरमा पुगेर देउसीभैलो खेल्दा छिमेकीबीच भेटघाट र आत्मीयता बढ्ने तथा गाउँमा सामूहिक उत्सवको वातावरण सिर्जना हुने गर्छ । यस अर्थमा देउसीभैलो मनोरञ्जनसँगै सामाजिक एकता कायम गर्ने माध्यमसमेत हो ।

संस्कृतिका जानकार कैलासकुमार पाण्डेका अनुसार समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक प्रक्रिया हो । नयाँ पुस्ताले आधुनिक मनोरञ्जनका माध्यम अपनाउनु अस्वाभाविक नभए पनि त्यस क्रममा मौलिक संस्कृति र परम्परा बिर्सन नहुने उनको भनाइ छ ।

उनका अनुसार परम्परागत देउसीभैलोका गीत, भाका, बाजागाजा र सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक छ । विद्यालय, स्थानीय तह, सांस्कृतिक संस्था तथा समुदायले मौलिक देउसीभैलोको महत्वबारे जानकारी गराउँदै यसको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।

विशेषगरी सुदूरपश्चिममा प्रचलित देउडा तथा स्थानीय लोकभाकालाई देउसीभैलोसँग जोडेर नयाँ पुस्तामाझ पुर्‍याउन सके मौलिक परम्पराको संरक्षणमा सहयोग पुग्न सक्छ । पुराना कलाकार तथा संस्कृतिका जानकारबाट मौलिक गीत र भाका सङ्कलन गर्ने, अभिलेखीकरण गर्ने तथा स्थानीयस्तरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रयास पनि आवश्यक देखिन्छ ।

युवाको बढ्दो पलायनका कारण गाउँघरमा परम्परागत सांस्कृतिक गतिविधिमा सहभागी हुने जनशक्ति घट्दै जानु अर्को चुनौती बनेको छ । गाउँमा युवा पुस्ताको उपस्थिति कम हुँदा पहिले समूह बनाएर खेलिने देउसीभैलोको निरन्तरता प्रभावित भएको स्थानीयको अनुभव छ । त्यसैले गाउँमै सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई यस्ता परम्परासँग जोड्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

आधुनिक प्रविधि र मनोरञ्जनलाई पूर्ण रूपमा अस्वीकार गर्नुभन्दा त्यससँगै आफ्नो मौलिक पहिचान जोगाउनु अहिलेको आवश्यकता हो । डिजे र आधुनिक गीतसँगै स्थानीय लोकभाका, देउडा, परम्परागत बाजागाजा तथा भट्याउने शैलीलाई पनि स्थान दिन सके देउसीभैलोको मौलिकता कायम राख्न सकिन्छ ।

पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति र परम्परा संरक्षण गर्नु एउटा पुस्ताको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो । त्यसैले आधुनिकतासँगै मौलिकताको संरक्षण र नयाँ पुस्तामा सांस्कृतिक चेतना विकास गर्न सकेमात्र सुदूरपश्चिमको मौलिक देउसीभैलो परम्परा र तिहारको सांस्कृतिक पहिचानलाई भावी पुस्तासम्म जीवित राख्न सकिने देखिन्छ ।