नदीमा पुल नहुँदा रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ भरवलियाका बासिन्दा आफ्नै गाउँनजिक पुग्न पनि लामो दूरी तय गर्न बाध्य छन् । सामान्य अवस्थामा पाँच मिनेटमै पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुमेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।
वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । नदीपारि रहेको खेतमा पुग्न किसानलाई समस्या छ भने उत्पादित कृषि उपज बजारसम्म पु¥याउन पनि थप समय र खर्च लाग्ने गरेको छ । आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल लैजानुपर्ने परिवारले समेत ठूलो कठिनाइ सामना गर्नुपरेको छ ।
विसं २०३२ को बाढीपछि गाउँको स्वरूप नै परिवर्तन भएको थियो । बाढीले बस्तीलाई नदीको दुई किनारमा छुट्याएपछि आवतजावतको समस्या सुरु भएको हो । अहिले झोलुङ्गे पुल भए पनि सवारीसाधन सञ्चालन गर्न नसकिने भएकाले त्यसले स्थानीयको आवश्यकता पूरा गर्न सकेको छैन ।
स्थानीय अगुवा वाजिद अली देवानले नदीमा पक्की पुल निर्माण भए भरवलियासहित आसपासका करिब ५० हजार नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ पुग्ने बताएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया