आइजिपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता हुन सकेन

11 Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाउने सरकारी निर्णय बदर गरी पुनः जिम्मेवारीमा फर्काउन माग गर्दै सर्वोच्च अदालत पुगेका दानबहादुर कार्कीको रिट निवेदन बिहीबार दर्ता हुन सकेन ।

कार्कीका तर्फबाट वारेसमार्फत पेस गरिएको निवेदनमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको उनका कानुन व्यवसायी टीकाबहादुर कुँवरले बताएका छन् ।

कुँवरका अनुसार बिहीबार रिट दर्ता नभए पनि शुक्रबार दर्ता हुन सक्ने सम्भावना छ । तर शुक्रबार दर्ता भएको अवस्थामा पनि मुद्दाको सुनुवाइका लागि भने तिहारपछि मात्रै पालो आउनेछ ।

सरकारले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । उक्त जिम्मेवारी स्वीकार नगरेका कार्की सरकारको निर्णयविरुद्ध न्यायिक उपचारको माग गर्दै सर्वोच्च पुगेका हुन् ।

मन्त्रिपरिषद्ले बुधबार कार्कीलाई पदमुक्त गरी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।