हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार

12 Shares

काठमाडौं । डोल्पामा लगातारको हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका उनीहरूलाई सोमबार बिहान उद्धार गरी सदरमुकाम दुनै पुर्‍याइएको हो । शे–फोक्सुण्डो तालको भ्रमण सकेर अपर डोल्पातर्फ लागेका पर्यटक प्रतिकूल मौसमका कारण दानीगढमै रोकिएका थिए । केही दिनदेखि लगातार भइरहेको भारी हिमपातले आवागमन अवरुद्ध भएपछि उनीहरू त्यहाँ फसेका हुन् ।

उद्धार गरिएका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् । उनीहरूलाई आइतबार नै उद्धार गर्ने प्रयास गरिएको भए पनि प्राविधिक समस्याका कारण सम्भव हुन सकेको थिएन । सोमबार बिहान भने हेलिकोप्टरबाट सबैलाई सकुशल उद्धार गरिएको हो ।​