भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

14 Shares

काठमाडौँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि तिहारलगायत चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको निर्भरता घट्ने अपेक्षा गरिएको छ । तर, उत्पादित फूललाई लामो समयसम्म ताजा राख्ने चिस्यानयुक्त भण्डारण सुविधाको अभावले किसानलाई चिन्तित बनाएको छ ।

भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्री फूलले किसानका बारी सजाउनुका साथै स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना पनि देखाएका छन् ।

भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलखेती गरेका छन् । उनीहरूले आ–आफ्नो दुई–दुई रोपनी क्षेत्रफलमा फूलखेती विस्तार गरेका हुन् ।

स्थानीय किसानलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले फूलखेती सुरु गर्न र विस्तार गर्न आफूहरूलाई प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन् ।

स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमाथिको निर्भरता घट्ने र स्थानीय किसानको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ । यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने किसानको विश्वास छ ।

तर, फूलखेतीप्रति आकर्षण बढ्दै गए पनि उत्पादित फूलको उचित व्यवस्थापन किसानका लागि चुनौती बन्दै गएको छ । चाडपर्वलाई लक्षित गरेर उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम रहेको किसान बालकृष्ण गैह्रेले बताए ।

फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उपयुक्त व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता बढेको उनको भनाइ छ । विशेषगरी बजारमा माग कम भएको समयमा बिक्री हुन नसकेको फूल सुरक्षित राख्न नसक्दा किसानले आर्थिक नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारको माग र आपूर्तिबीच तालमेल मिलाउन कठिन भइरहेको किसान बद्रिनाथ गैह्रेले बताए ।

उनले स्थानीयस्तरमा उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ ।”

किसानका अनुसार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था र फूल सुरक्षित राख्न सकिने भण्डारण सुविधा उपलब्ध भएमा सयपत्री फूलखेती अझ विस्तार गर्न सकिने सम्भावना छ । त्यसका लागि स्थानीय सरकारले बजार व्यवस्थापन, बजारीकरण र चिस्यानयुक्त भण्डारणको व्यवस्था गर्न सके किसानलाई ठूलो राहत पुग्ने देखिन्छ ।

स्थानीयस्तरमै फूल उत्पादन बढ्नु आत्मनिर्भरता र किसानको आयआर्जनका दृष्टिले सकारात्मक भए पनि उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्नु उत्तिकै आवश्यक छ । भिमादमा सुरु भएको सयपत्री फूलखेतीलाई दिगो र व्यावसायिक बनाउन उत्पादनसँगै भण्डारण तथा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने देखिएको छ ।