nकाठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गर्दै आएको बताउनुभएको छ ।
सोमवार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उहाँले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँकाअनुसार वित्तीय प्रविधिको तिब्र विकासले विश्वव्यापी रूपमा वित्तीय सेवा प्रवाहको परम्परागत शैली परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्वपूर्ण परिवर्तन ल्याउनेछ ।
गभर्नर पौडेलले यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुका साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट शुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताउनुभयो ।
पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रविधिमा मात्र सिमित नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पुर्याउने फिनटेक नवप्रवर्तनलाई समेत प्रोत्साहन गरिरहेको उहाँको भनाई छ ।
उहाँकाअनुसार यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्सको कार्यान्वयन तथा ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज २०२६/२७ टु २०३०/३१’ तर्जुमा र कार्यान्वयन अघि बढाएको छ । यी पहलले बैंकिङ तथा वित्तीय क्षेत्रमा नवीन प्रविधिको प्रयोग, नयाँ वित्तीय सेवा तथा व्यावसायिक मोडेलको विकास र वित्तीय सेवा प्रदायक तथा प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्य थप सुदृढ हुने उहाँको विश्वास छ । गभर्नर पौडेलले फिनटेक नवप्रवर्तनको विकास तथा प्रवद्र्धनमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भुमिका पनि महत्त्वपूर्ण हुने समेत बताउनुभयो । यसका लागि राष्ट्र बैंक र सरकारबीच निरन्तर समन्वय आवश्यक रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘वित्तीय प्रविधिको तीव्र विकासले विश्वव्यापी रुपमा वित्तीय सेवा प्रवाह गर्ने परम्परागत तौरतरिकालाई परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स तथा अन्य उदीयमान प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्त्वपूर्ण परिवर्तन ल्याउने सम्भावना सिर्जना गरेको छ । यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुको साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता तथा समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास लिएको छु । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई लामो समयदेखि प्रोत्साहन गर्दै आएको छ ।
विद्युतीय कार्ड, एटीएम, एसएमएस बैंकिङ लगायतका सेवाबाट शुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा आज मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको छ । यस क्रममा नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विकाससँगै आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै आएको छ ।
पछिल्लो समय भुक्तानी सम्बन्धी प्रविधि मात्र नभई समग्र वित्तीय सेवाको रुपान्तरणमा सहयोग पुर्याउने फिनटेक नवप्रवर्तनलाई समेत प्रोत्साहन गर्ने दिशामा बैंकले विभिन्न पहलहरू अघि बढाएको छ । यसै सन्दर्भमा भुक्तानी प्रणाली विभाग अन्तर्गत डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना, रेगुलटरी सान्डबक्सको कार्यान्वयन तथा फिनटेच स्टाटिजी फर डिजिटल फाइनान्सियल सर्भिस २०२६र२७ तय २०३०र३१ को तर्जुमा तथा कार्यान्वयनमार्फत नेपाल राष्ट्र बैंकले फिनटेकका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रयास गरेको छ । यी पहलहरूबाट नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा नवीन प्रविधिको प्रयोग, नयाँ वित्तीय सेवा तथा व्यावसायिक मोडेलको विकास र वित्तीय सेवा प्रदायक तथा प्रविधिमा आधारित नवप्रवर्तकहरू बीचको सहकार्य थप सुदृढ हुने विश्वास लिएको छु । नेपाल राष्ट्र बैंक नवप्रवर्तनका लागि आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय सुरक्षाका उपाय, जिम्मेवार नवप्रवर्तनका लागि अनुकूल वातावरण सिर्जना गर्न प्रयासरत छ । यसका लागि नवप्रवर्तक, बैंक वा वित्तीय संस्था, भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकाय बीच निरन्तर संवाद तथा सहकार्य आवश्यक हुन्छ ।
नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको पनि नवप्रवर्तन विकास एवं प्रवर्द्धनमा त्यत्तिकै महत्त्वपूर्ण भुमिका रहने भएकाले यस बैंक तथा नेपाल सरकारको निरन्तर समन्वयमा जोड दिन चाहन्छु ।’
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास तथा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा यस्तो सहकार्यलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग साझेदारी गर्ने सम्भावना रहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया