काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । दोस्रो खेल साँझ ५ः०० बजे हुनेछ । दुवै खेलले प्रतियोगिताको अङ्कतालिका र टोलीहरूको आगामी यात्रामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा चितवन राइनोजले अहिलेसम्म अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा जित निकालेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए । त्यसैले आज सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रँदा चितवन आफ्नो अपराजित लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
यता सुदूरपश्चिम रोयल्सले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित हात पारेको छ भने दुई खेलमा पराजय बेहोरेको छ । प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्न सुदूरपश्चिमका लागि आजको खेल महत्वपूर्ण हुनेछ । बलियो प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्यसहित टोली मैदानमा उत्रनेछ ।
यसैबीच, चितवन राइनोजका समर्थकहरू आफ्नो टोलीलाई समर्थन गर्न चितवनबाट काठमाडौँ आउन थालेका छन् । आज साँझ हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल हेर्न क्लबले चितवनका समर्थकलाई काठमाडौँ ल्याउन निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट खरिद गरेका चितवनका समर्थकलाई खेल हुने दिन चितवनदेखि काठमाडौँसम्म र खेल सकिएपछि पुनः चितवन फर्कने व्यवस्था मिलाइएको छ ।
उनले भने, “खेलको टिकट लिएका चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौँसम्म र खेल हेरिसकेपछि पुनः चितवन ल्याउने व्यवस्था गरेका छौँ । प्रि–टिकट लिएर आउने समर्थकमध्ये ‘पहिले आउनेलाई पहिले सेवा’ (फस्ट कम, फस्ट सर्भ) का आधारमा बस सेवा उपलब्ध गराएका छौँ ।”
समर्थकलाई खेल मैदानसम्म सहज रूपमा पुर्याउने उद्देश्यले गरिएको यो व्यवस्थाले चितवन राइनोजप्रतिको समर्थकको उत्साह थप बढाउने अपेक्षा गरिएको छ । आजको खेलमा चितवनका समर्थकको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ ।
एनपिएलमा आज हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । विशेषगरी अपराजित चितवन राइनोज तथा जितको खोजीमा रहेको सुदूरपश्चिम रोयल्सबीचको साँझको भिडन्तलाई दर्शकले चासोका साथ हेरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया