काठमाडौं । आमरण अनशनमा रहनुभएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि उहाँलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । उहाँलाई लिन हेलिकोप्टर इलाम पुगिसकेको छ ।
रगतमा चिनीको मात्रा घट्दै गएपछि डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको हो । हाल उहाँको उपचार इलाम जिल्ला अस्पतालमा भइरहेको छ । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि आइतबार रातिदेखि उहाँलाई अक्सिजन दिएर उपचार गरिँदै आएको छ ।
स्वास्थ्य अवस्था थप कमजोर बनेपछि इलाम जिल्ला अस्पतालका चिकित्सकहरूले आइतबार नै उहाँलाई थप सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएका थिए । नेपाल चिकित्सक संघले पनि डा. केसीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै जीवन रक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको थियो ।
डा. केसीको सचिवालयका अनुसार उहाँलाई उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर इलाम पुगेको हो ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै डा. केसीले इलामस्थित नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गर्नुभएको थियो । अनशनको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार साँझ उहाँलाई इलाम जिल्ला अस्पताल भर्ना गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया