काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

11 Shares

काठमाडाैं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रिय पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । 

बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रिय ददस्यहरुलाई पद तथा गोपनियताको शपग ग्रहण गराउनुभएको हो ।

सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । शपथ लगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ । गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ ।

त्यस्तै, महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो । यसैगरी  विभिन्न क्लष्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित हुनुभएको छ । काँग्रेसले चार जना केन्द्रिय सदस्यहरुको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले चार केन्द्रिय सदस्यको शपथ रोकेको हो ।

नवनिर्वाचित केन्द्रिय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रिय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।

बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।