चक्रवात ‘अर्नब’को असर ः नारायणगढ–मुग्लिनसहित यी सडकमा पहिरोको जोखिम

10 Shares

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने र त्यसबाट पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार क्षेत्र आसपासका सडकमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

जोखिममा पर्न सक्ने सडकखण्डमा नारायणगढ–मुग्लिन सडक, कोशी राजमार्ग र सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र छन् । त्यस्तै, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडकमा पनि सावधानी अपनाउनुपर्ने जनाइएको छ ।

सम्भावित वर्षाका कारण पहाडी तथा भिरालो भूभागमा पहिरो जाने, ढुङ्गा खस्ने र सडक भासिने जोखिम रहन्छ । नदी किनारका सडकमा पानीको सतह बढ्ने, कटान हुने तथा साना खोला र कल्भर्टमा बहाव बढ्दा सडकमा क्षति पुग्न सक्ने भएकाले यातायात सञ्चालन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै यात्रुले यात्रा गर्नुअघि मौसम पूर्वानुमान र सडकको पछिल्लो अवस्था बुझ्न तथा जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नरोकिन सावधानी अपनाउनुपर्ने छ ।