काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुर्याएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताएका छन् । उनले एनपीएललाई आधार बनाएर खेल पर्यटन (स्पोर्ट्स टुरिजम) प्रवर्द्धन गर्न सके नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने बताएका हुन् ।
राजधानीमा जारी एनपीएलको तेस्रो संस्करणमा सहभागी विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसाइँ ठूला होटलमा भइरहेको छ । प्रतियोगिताका आठवटै फ्रेन्चाइज टोली ठूला होटलसँग आबद्ध हुनु र खेलाडी तथा प्रशिक्षकले लामो समयसम्म होटलका सेवा लिनुले आतिथ्य उद्योगमा सकारात्मक प्रभाव पारेको शाहको भनाइ छ ।
सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवनलगायतका टोलीका समर्थकसमेत खेल हेर्न विभिन्न स्थानबाट काठमाडौँ आइरहेका छन् । यसले होटल तथा आवास, खानपान र यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पुगेको उनले बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष शाहले एनपीएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नहेरी पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्नुपर्ने बताए ।
‘एनपीएलले एउटा राम्रो सकारात्मक सन्देश दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले क्रिकेटमार्फत राम्रो प्रदर्शन गरिरहेको छ । यसले पर्यटनमा पनि प्रत्यक्ष प्रभाव पार्ने र फाइदा पुर्याउने देखिन्छ,’ उनले भने ।
उनका अनुसार एनपीएलका फ्रेन्चाइज टोलीसँग आबद्ध होटलमा स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकले दुईदेखि तीन हप्ता वा महिनादिनसम्म सेवा लिने भएकाले होटल व्यवसायले प्रत्यक्ष लाभ पाउने गरेको छ । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी र समर्थकको आवागमनले पर्यटनसँग सम्बन्धित अन्य व्यवसायलाई समेत चलायमान बनाएको उनले बताए ।
अध्यक्ष शाहले एनपीएललाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन सके दक्षिण एसियाका क्रिकेटप्रेमीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने बताए । विशेषगरी भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काजस्ता क्रिकेट खेल्ने राष्ट्रबाट पर्यटक भित्र्याउने सम्भावनामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले मान्यता पाउनु नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर भएको उनले बताए । स्टार स्पोर्ट्सजस्ता टेलिभिजन च्यानलमार्फत प्रतियोगिता प्रसारण भइरहेकाले नेपाललाई पर्यटन गन्तव्यका रूपमा चिनाउन पनि यसको उपयोग गर्न सकिने उनले उल्लेख गरे ।
‘स्पोर्ट्स टुरिजम बढाउने विषयमा हामी सहकार्य गरिरहेका छौँ । तर, एउटा ठोस योजना बनाएर योजनाबद्ध रूपमा अगाडि बढ्न सके देशले अझ बढी फाइदा लिन सक्छ । एनपीएलले स्पोर्ट्स टुरिजमको ठूलो सम्भावनाको ढोका खोलेको छ,’ शाहले भने ।
उनले दक्षिण एसियाका ठूला क्रिकेट राष्ट्रका फ्रेन्चाइज टोलीलाई नेपालमा ल्याएर खेलाउने सम्भावनाबारे पनि अध्ययन गर्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानको स्तरोन्नतिले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना बढाएको उल्लेख गर्दै उनले खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष शाहले नेपालमा विदेशी पर्यटक भित्र्याउन अहिले अनुकूल मौसम रहे पनि अपेक्षाअनुसार पर्यटक आगमन हुन नसकेको बताए । दसैँ सकिएर तिहार नजिकिएको यस अवधिमा विदेशी पर्यटकको आकर्षण विशेषगरी पदयात्रा तथा साहसिक पर्यटनमा रहने गरेको उनको भनाइ छ ।
तर, रसुवा र भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न परिस्थितिले पर्यटक आगमनमा केही असर पारेको उनले बताए । उक्त घटनापछि नेपाल भ्रमण सुरक्षित छ कि छैन भन्ने विषयमा विदेशी पर्यटकले बढी सोधपुछ गरिरहेको उनको भनाइ छ ।
मौसमसम्बन्धी अनिश्चितताले समेत पर्यटकको भ्रमण निर्णयमा प्रभाव पार्न सक्ने भएकाले नेपालका विभिन्न पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनले बताए ।
‘कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपालकै पर्यटन प्रभावित हुने गरी सन्देश जान दिनु हुँदैन । यसका लागि सरकारी निकायबीच समन्वय आवश्यक छ,’ शाहले भने ।
उनका अनुसार विपद् प्रभावित क्षेत्रको अवस्थाबारे सही सूचना प्रवाह गर्दै अन्य सुरक्षित पर्यटन गन्तव्यको प्रचारप्रसार गर्न सके पर्यटकको विश्वास कायम राख्न सकिन्छ ।
अध्यक्ष शाहले नेपालमा होटल तथा पर्यटन क्षेत्रमा लगानी र सेवा दिन सक्ने क्षमता बढे पनि त्यसअनुसार पर्यटक आगमन हुन नसकेको बताए । यसको प्रमुख कारण अन्तर्राष्ट्रिय हवाई सम्पर्क (एयर कनेक्टिभिटी) सीमित हुनु रहेको उनको भनाइ छ ।
उनका अनुसार नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेका छन् । तर, नेपाल आउने पर्यटकको सङ्ख्या वार्षिक ११ देखि १२ लाखको हाराहारीमा रहेको उनले बताए ।
‘हामीसँग पर्यटकलाई सेवा दिन सक्ने क्षमता बढेको छ । तर, अपेक्षाअनुसार पर्यटक भित्र्याउन सकिएको छैन । अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन क्षेत्रले अझ बढी लाभ लिन सक्छ,’ उनले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले करिब एक महिनाअघि उडान सुरु गरेको उल्लेख गर्दै शाहले अन्य अन्तर्राष्ट्रिय उडानसमेत विस्तार गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय हवाई सम्पर्क बढाउन सके नेपालका पर्यटन गन्तव्यमा विदेशी पर्यटकको पहुँच सहज हुने र आगमन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
उनले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन गन्तव्यको प्रभावकारी प्रचारप्रसार तथा एनपीएलजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोड्ने रणनीति एकसाथ अघि बढाउनुपर्ने बताए । यसबाट होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल बढाउनुका साथै देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान विस्तार गर्न सकिने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया