‘कहीँ नभएको जात्रा’को मौलिक पहिचान जोगाउँदै हाँडीगाउँका बासिन्दा

48 Shares

काठमाडौँको हाँडीगाउँमा परम्परागत हाँडीगाउँको जात्रा मनाइएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रा मौलिक संस्कृति, धार्मिक आस्था र नेवार समुदायको ऐतिहासिक परम्परासँग जोडिएको छ ।

चोक्टे नारायण जात्राका नामले समेत चिनिने यस पर्वमा ब्रह्मा, विष्णु र महेश्वरका प्रतीक रहेका तीनवटा खट निकालेर विभिन्न टोल परिक्रमा गराइन्छ । अन्य जात्राभन्दा फरक यसको मुख्य विशेषता खटको बनावट हो । यस जात्रामा देवताको मूर्ति माथि र गजुर तल राखेर खट घुमाउने परम्परा छ ।

जात्राका क्रममा हाँडीगाउँका ठटालटोल, न्याल्मटोल र कोटालटोलबाट क्रमशः ब्रह्मा, विष्णु र महेश्वरका खट निकाल्ने गरिन्छ। मैनबाट बनाइएका फूलले खट सजाउने चलन पनि यस जात्राको विशेषता हो । खटबाट झरेका फूल टिप्न भक्तजन उत्साहित हुने गर्छन् ।

हाँडीगाउँको जात्रासँग विभिन्न किंवदन्ती जोडिएका छन् । नारायणको आराधना गरेकी एक महिलाको मनोकामना पूरा भएपछि अन्यत्र नभएको जात्रा देखाउने वाचाअनुरूप यसको सुरुवात भएको विश्वास गरिन्छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानसँग जोडिएको यो पर्वले काठमाडौँ उपत्यकाको प्राचीन इतिहास, धार्मिक आस्था र मौलिक सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ ।