१० प्रस्तावित राजदूतको नियुक्ति रोकियो, विदेशी मुलुकको सहमति पर्खाइ

58 Shares

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका १० जना प्रस्तावित राजदूतले सम्बन्धित देशबाट कूटनीतिक सहमति (एग्रिमो) पाउन बाँकी छ । सरकारले उनीहरूको नाम सम्बन्धित मुलुकमा पठाइसकेको भए पनि कात्तिक १० सम्म कुनै पनि देशबाट सहमति प्राप्त नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

अनुमोदित राजदूतहरूमा भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, इजरायलका लागि सुरेश कर्ण, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, श्रीलंकाका लागि मञ्चला झा, जर्मनीका लागि सरु जोशी र ओमानका लागि पद्माक्षी राणा छन् ।

सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेकामा साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम समितिले अनुमोदन गरेन । जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाबारे भने थप स्पष्टता खोजिएको छ ।

सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ । यसैबीच, सरकारले राजदूत रिक्त रहेका थप नौ देशका लागि नियुक्ति प्रक्रिया अघि बढाउने तयारीसमेत गरिरहेको छ ।