काठमाडौं । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ चेलीले निःशुल्क मोटरसाइकल सेवा लिएका छन् ।
सामाजिक सेवाको भावनासहित दसैँको अवसरमा कात्तिक ३ गतेदेखि ६ गतेसम्म चार दिन सञ्चालन गरिएको अभियानबाट ६४२ चेली लाभान्वित भएका हुन् ।
अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले निःशुल्क मोटरसाइकल सेवा लिएका थिए ।
“तेस्रो संस्करणका रूपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रूपमा खटिएका थिए,” उनले भने, “माइती तथा मावली घर जाने–आउने क्रममा निःशुल्क मोटरसाइकल सेवा पाउँदा चेलीहरू हर्षित छन् । सामाजिक सेवाभावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहनेछ ।”
तिहारमा माइती पूजा गर्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म निःशुल्क मोटरसाइकल सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विसं २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन् ।
युवा समूहले दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय स्थापना गरेर माइतीघर जाने चेलीलाई दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्म निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यातायातका साधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका तथा भाडा तिरेर यात्रा गर्न नसक्ने महिला, बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।
अभियानका क्रममा प्रयोग हुने मोटरसाइकलका लागि सहयोग जुटाएर इन्धनको व्यवस्था मिलाउने गरिएको संयोजक राईले बताए । विशुद्ध सामाजिक सेवाअन्तर्गत विसं २०८१ मा ३४५ जना र विसं २०८२ मा ७५० जना चेलीलाई निःशुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।
नेपाल सरकारबाट सेवासुविधा प्राप्त गर्ने व्यक्ति, बहालवाला जनप्रतिनिधि र घरमा सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । अभियानअन्तर्गत निःशुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलोग्राम तौलसम्मका झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ ।
जिल्लाका अधिकांश सडक कच्ची अवस्थामा रहेकाले दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर यात्रुले बोक्न पाउने सामानको तौल निर्धारण गरिएको संयोजक राईले बताए । निःशुल्क यातायात सेवा अभियानमा स्वयंसेवकका रूपमा सहयोग गर्न चाहने जोकोही सहभागी हुन सक्ने जनाइएको छ ।
स्वयंसेवक बन्न चाहने युवासँग सवारीसाधनको ब्लुबुक र चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । शुभेच्छुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको अभियानका लागि एकपटकमा करिब चार लाख रुपैयाँ खर्च हुने गरेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया