दसैँ नेपालीका लागि धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई बजारमा आर्थिक गतिविधि बढाउने महत्त्वपूर्ण अवसर पनि हो । चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्रीदेखि यातायात र पर्यटन सेवासम्मको माग बढ्ने गर्छ ।
तर दसैँमा बढ्ने उपभोगले स्वदेशी उत्पादन र रोजगारीमा कति योगदान पु¥याउँछ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा नेपालको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ६६ खर्ब रुपैयाँ पुगेको बाताएको छ । यसमध्ये निजी उपभोग खर्च ५४ खर्ब रुपैयाँभन्दा बढी छ ।
दसैँ–तिहारका बेला हुने किनमेलले व्यापार, यातायात, होटल तथा सेवा क्षेत्रमा कारोबार बढाए पनि त्यसको ठूलो हिस्सा आयातित वस्तुमा खर्च हुँदा रकमको केही भाग विदेशिने गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब रुपैयाँ पुगेको थियो । सोही अवधिमा निर्यात १३.८ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब रुपैयाँ पुगे पनि व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी रह्यो ।
यी तथ्याङ्कले चाडपर्वको मागलाई स्वदेशी उत्पादनसँग जोड्नु किन आवश्यक छ भन्ने देखाउँछन् दसैँमा स्वदेशमै उत्पादित खाद्यान्न, फलफूल, तरकारी, कपडा, हस्तकला तथा घरेलु सामग्रीको प्रयोग बढाउन सके किसान, साना उद्यमी र स्थानीय व्यवसायीको आम्दानी बढाउन सकिन्छ ।
त्यसले रोजगारी सिर्जना र देशभित्रै पुँजी परिचालनमा समेत सहयोग पु¥याउँछ । चाडपर्वमा खर्च बढ्नु मात्र अर्थतन्त्रका लागि पर्याप्त हुँदैन; त्यो खर्चले स्वदेशी उत्पादन, रोजगारी र स्थानीय उद्यमलाई कति लाभ दिन्छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया