देशका विभिन्न सात जिल्लामा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाले ज्यान गुमाएका हुन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा आज बिहान सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो दुर्घटनामा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राईसहित तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पताल तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित सडकमा लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ भोर्लेस्थित सडकमा प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको विद्युतीय गाडी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलस्थित सडकमा दुई मोटरसाइकल ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित सडकमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ।
त्यस्तै, रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरस्थित सडकमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो आज बिहान दुर्घटना हुँदा त्यसमा सवार माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। सात जिल्लामा भएका यी दुर्घटनामा नौ जनाले ज्यान गुमाएका छन्।
प्रहरीले सवारी चलाउँदा गति नियन्त्रण, ट्राफिक नियमको पालना र सावधानी अपनाउन आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया