काठमाडाैं । युरोप पुग्ने प्रयासमा रहेका आप्रवासी सवार डुङ्गा गाम्बियाको तटमा डुब्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही यात्रु बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले १२ जनाको शव फेला पारेको गाम्बिया रेडक्रस सोसाइटीले जनाएको छ ।
रेडक्रसका अनुसार बेपत्ता हुनेको यकिन सङ्ख्या खुल्न सकेको छैन । उद्धार कार्य जारी रहेकाले घटनाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको संस्थाले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्थानीय बासिन्दाका अनुसार डुङ्गा एटलान्टिक तटमा रहेको जिनाक काजाटा गाउँबाट छुटेको थियो । उक्त गाउँ स्पेनको क्यानरी टापु पुग्न खोज्ने आप्रवासीका लागि प्रस्थान गर्ने प्रमुख स्थानमध्ये एक हो ।
पश्चिम अफ्रिकाबाट क्यानरी टापुसम्मको समुद्री यात्रा तीव्र बहाव र जीर्ण तथा क्षमताभन्दा बढी यात्रु राखिएका डुङ्गाका कारण अत्यन्त जोखिमपूर्ण मानिन्छ । यसअघि सन् २०२५ को डिसेम्बरमा पनि जिनाक काजाटाबाट छुटेको डुङ्गा दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने करिब १०० जना बेपत्ता भएका थिए ।
मोरक्को, मौरिटानिया र सेनेगलमा समुद्री मार्गबाट हुने अवैध आवागमन रोक्न गस्ती कडा पारिएपछि आप्रवासीहरू युरोप पुग्न पश्चिम अफ्रिकाको अझ दक्षिणी क्षेत्रबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यसले समुद्री यात्राको दूरी र जोखिम दुवै बढाएको छ । गरिबी, द्वन्द्व र उत्पीडनबाट भागेका आप्रवासीका लागि क्यानरी टापु युरोप प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक हो । इटाली र ग्रीसतर्फ जाने भूमध्यसागरीय मार्ग पनि आप्रवासीले प्रयोग गर्ने मुख्य बाटामध्ये पर्छन् ।
क्यानरी टापुमा सन् २०२४ मा ४६ हजारभन्दा बढी आप्रवासी पुगेका थिए । तर, आप्रवासी आगमन नियन्त्रण गर्न स्पेनमाथि दबाब बढिरहेका बेला पछिल्लो समय त्यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया