काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको एक सिट रिक्त भएको छ। एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत भएसँगै उनको प्रदेश सभा सदस्य पद रिक्त भएको हो।
प्रदेश सभा सचिवालयले थापाले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ। उनले गत मंगलबार प्रदेश सभाबाट बजेट पारित भएलगत्तै सांसद पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएको तीन दिनपछि उनको राजीनामा स्वीकृत भएको हो।
थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र ९१० बाट निर्वाचित भएका थिए। उनी यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए।
बजेट पारित गर्ने प्रक्रियाका क्रममा प्रदेश सभाभित्र देखिएको विवादका बीच थापाले सांसद पदबाट राजीनामा दिएका हुन्। बजेटमा आफ्नो निर्वाचन क्षेत्रका लागि पर्याप्त विकास योजना समेटिन नसकेको र बजेट निर्माण तथा पारित प्रक्रियामा देखिएको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले पद छाडेको बताएका थिए।
उनको राजीनामा स्वीकृत भएसँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ ९१० को प्रदेश सभा सदस्य पद रिक्त भएको छ। यससँगै सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको प्रतिनिधित्व एक सिटले घटेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया