दशैं–तिहार भत्ता नपाएपछि बाजुरा अस्पतालका कर्मचारीले सेवा बन्द गर्ने चेतावनी

17 Shares

काठमाडाैं। सुदूरपश्चिम प्रदेश सरकारले असोज २५ गते ल्याएको बजेटप्रति अस्पतालका कर्मचारीहरुलाई दिइने दशैं तिहारको सुविधा कटौती भएपछि जिल्ला अस्पताल बाजुराका करारका कर्मचारीहरुले असन्तुष्टी जनाएका छन् ।

उनीहरुले प्रदेश सरकारले माग पुरा नगरे अस्पतालका सेवा नै ठप्प पार्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल मार्फत प्रदेश सामाजिक विकासमन्त्री सन्तोषी शर्मा र सचिवलाइ ज्ञापन पत्र समेत बुझाएका छन् ।

संघीय सरकारले ल्याएको निती अनुरुप प्रदेश सरकारले करारका कर्मचारीहरुलाई दशैं तिहारको भत्ता समेत कटौती गरेको र प्रदेश सरकारले कर्मचारी माथि विभेद गरेको असन्तुष्टी जनाउँदै सामाजिक विकासमन्त्री शर्मालाई प्रजिअ मार्फत ज्ञापन पत्र बुझाएको जिल्ला अस्पताल बाजुराका करारका कर्मचारी डाक्टर नकेन्द्र मल्लले बताएका छन् ।

उनका अनुसार स्थायी कर्मचारीलाई दशैं तिहार सुविधामा असमान व्यवहार भएकाले तत्काल चाडपर्वमा दिइने सुविधा उपलव्ध गराउन माग सहित ज्ञापन पत्र बुझाइएको बताए । ज्ञापन पत्रमा करारका कर्मचारी माथि प्रदेश सरकराले अन्याय गरेर कर्मचारीलाई निराशा छाएको उल्लेख गरिएको छ ।

नेपालको श्रम ऐन २०७४ नियमावली २०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन २०७६ दफा ८२ को नियमावलीमा चाडपर्वमा पाउने हक उल्लेख गरिएको भएपनि करारका कर्मचारीलाई विगतका वर्षदेखि उक्त भत्ता उपलव्ध नभएको भनिएको छ ।
प्रदेश सरकारले ऐन र नियमावलीको विपरित करारका कर्मचारीहरु माथिको विभेद, असमानताको व्यवहार र स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य गरिएको प्रति असन्तुष्टी जनाउँदै ज्ञापन पत्र बुझाइएको करारका कर्मचारी लेकराज पाण्डेले बताएका छन् ।
करारका कर्मचारीलाई उक्त भत्ता उपलव्ध गराउन माग गरिएको छ । मागहरु सम्बोधन नभएमा कार्तिक ७ गतेबाट अस्पतालका सेवा समेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझुदै प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रदेश सरकारले कर्मचारी माथि विभेद गर्न नहुने बताएका छन् ।

उनले प्रदेश मन्त्रालय र कोष तथा लेखा नियन्त्रयक कार्यालयमा जानकारी लिइ समस्या समाधान गर्न लाग्ने प्रतिवद्धता जनाएका छन् । करारका कर्मचारीका लागि दशैं तिहारको भत्ता नआउनु कर्मचारी माथि निराशा आएकाले सेवा प्रवाहमा थप समस्या हुन नदिन समाधानका लागि पहल गर्ने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी रिजालले गरेका छन् ।