जंगली हात्तीमाथि संकट, एक महिनामै तीन भाले हात्ती मारिए

81 Shares

नेपालमा जंगली हात्तीको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । असोज महिनामा मात्रै देशका विभिन्न स्थानमा तीनवटा प्रजननयोग्य भाले हात्ती मारिएका छन् । यस वर्ष भदौको अन्त्यदेखि असोजसम्म तिनवटा जंगली भाले हात्तीको मृत्यु भएपछि संरक्षणकर्मीले नेपालमा हात्तीको वंश विस्तारमै असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार क्षेत्रमा नेपाली सेनाको पोस्टमा लगाइएको विद्युतीय तार चपाउँदा करेन्ट लागेर चर्चित हात्ती ‘रोनाल्डो’  मरेको थियो । त्यसको १५ दिनपछि सर्लाहीको बागमती नगरपालिका–४ स्थित परबलबारीमा सुँढलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा अर्को भाले हात्ती मृत भेटियो ।

त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै धानबारीमा ‘सानो दारे’ नामले चिनिने वयस्क भाले हात्ती मृत फेला परेको थियो । यसअघि भदौ ३१ गते झापाको मेचीनगर–३ स्थित तेलपानीको जंगलमा पनि एउटा भाले हात्ती मृत भेटिएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले गत वर्ष मात्रै नौवटा जंगली भाले हात्ती मारिएका बताबउका छन् ।

पछिल्लो १५ वर्षमा मानवीय कारणले ५८ वटा हात्तीको मृत्यु भएको उहाँले बताउनुभएको छ । एउटा भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्ने भएकाले यस्ता हात्तीको मृत्युले हात्तीको वंश विस्तार र आनुवंशिक विविधतामा समेत असर पार्न सक्छ ।