कांग्रेस केन्द्रीय कार्यसमितिमा चिकित्सकको प्रतिनिधित्व, सहमहामन्त्रीदेखि सदस्यसम्म

190 Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चिकित्सा क्षेत्रमा आबद्ध चिकित्सकहरू पार्टीको केन्द्रीय नेतृत्वमा निर्वाचित भएका छन् । असोज ३० गते सार्वजनिक मतपरिणामसम्बन्धी डा. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित हुँदा विभिन्न विधाका चिकित्सक केन्द्रीय सदस्य बनेका छन् ।

मुस्लिम समूहबाट डा. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । केन्द्रीय सदस्यतर्फ पेशागत तथा विषयगत समूहबाट नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी र बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन् । त्यस्तै, स्त्रीरोग विशेषज्ञ प्रा. डा. सीता पोखरेल पनि यही समूहबाट केन्द्रीय सदस्य बनेकी छन् ।

नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ खुला समूहबाट, क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी झा मधेश प्रदेशबाट र स्तन क्यान्सर शल्यचिकित्सक डा. योशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्।  यी सातै जना चिकित्सकको प्रतिनिधित्वले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अनुभव भएका व्यक्तिहरूको सहभागिता देखाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिसहित केन्द्रीय कार्यसमितिका २३१ जना निर्वाचित भएका छन् । पार्टीको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ, जसमा बाँकी ६६ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ । चिकित्सकहरूको निर्वाचित प्रतिनिधित्वले पार्टीको नीति निर्माण र नेतृत्व तहमा स्वास्थ्य क्षेत्रका विषय उठाउने अवसरसमेत प्रदान गरेको छ ।