कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता

11 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

महाधिवेशन प्रचारप्रसार समितिले बुधबार साँझ महाधिवेशनस्थल खुलामञ्चमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिनेको संख्या र निर्वाचन तयारीबारे जानकारी दिएको हो ।

प्रचारप्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर, उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफू स्वयंले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, क्लस्टरतर्फ १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

चालिसेले अब केही समयभित्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताए । उनका अनुसार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ ।

महाधिवेशनमा सहभागी ७ हजारभन्दा बढी प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले बताए । उनका अनुसार राष्ट्रिय सभा गृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र रहनेछन् ।

पत्रकार सम्मेलनमा चालिसेले महाधिवेशनको बन्दसत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका प्रस्ताव पारित भएको जानकारी दिए । ती प्रतिवेदनले आगामी चार वर्ष पार्टीले अघि बढ्ने नीति र मार्गसमेत तय गरेको उनको भनाइ थियो ।

उनले भने, ‘अब मतदानमा जानुभन्दा अगाडि जति पनि इच्छुक उम्मेदवार साथीहरू हुनुहुन्थ्यो, लगभग ७७ सय प्रतिनिधिको बीचमा ठूलो संख्यामा उम्मेदवारहरूले आफ्नो इच्छा जाहेर गर्नुभयो । त्यसलाई पार्टीले सकारात्मक रूपमा लिएको छ । हजारौँको संख्यामा युवाहरू प्रतिस्पर्धामा आउनुभएको छ ।’

महाधिवेशनमा युवा पुस्ताको उल्लेख्य सहभागिताले कांग्रेसको जिम्मेवारी सम्हाल्न नयाँ पुस्ता तयार रहेको सन्देश दिएको चालिसेले बताए । ‘पार्टीको जिम्मेवारीको बोझ आफ्नो काँधमा बोक्नका लागि युवा पुस्ता अब तयार भइसकेको सन्देश यसपटकको सहभागिताले स्पष्ट गरेको छ,’ उनले भने ।

चालिसेका अनुसार सभापतिका उम्मेदवार राठौरले यसअघि नै उम्मेदवारी फिर्ता लिइसकेका छन् । उपसभापतिका उम्मेदवार रिजाल र आफूले पनि सभापतिको आग्रहबमोजिम उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । अन्तिम उम्मेदवारको नामावली प्रकाशनपछि बिहीबार बिहानदेखि मतदान प्रक्रिया अघि बढ्नेछ ।