रसुवा बाढीमा परी हालसम्म १,३४१ जनाको मृत्यु, झन्डै ५ हजार बेपत्ता

19 Shares

भोटेकोशी बाढीमा परी मृत्यु भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोको पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणले बिहान ११ बजेसम्म उपलब्ध तथ्याङ्कअनुसार विपदमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ४१ पुगेको जानकारी दिएको छ । बाढीबाट निधन भएकाहरुमध्ये सबैभन्दा धेरै शव चितवनमा ३६२ जनाको फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्तले बुझिलिएको प्राधिकरणले जनाएको छ । विपदमा परी अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् । जसमा नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी १०० जना रहेका छन् ।

बेपत्ताको सूचीमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू समेत समावेश हुनसक्ने भएकाले हाल तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ ।