तिब्बततर्फकाे बाढीमा परी ५ सय ४६ बेपत्ता, १०४ जना नेपालका

10 Shares

एजेन्सी । चिनियाँ राज्य-नियन्त्रित टेलिभिजनले तिब्बतको केरुङ क्षेत्रमा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका ५ सय ४६ जनामध्ये २ सय ६१ जना २३ विदेशी नागरिक रहेकाे जनाएकाे छ।

चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि यो तथ्यांक सार्वजनिक गरिएको हो। चीनले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगहरूलाई यसकाे बारेमा आधिकारिक जानकारी गराइसकेको जनाएको छ।

चीन सरकारले सार्वजनिक गरेको बेपत्ता विदेशी नागरिकहरूको देशगत विवरणमा नेपालका १ सय ४ जना, भारतका ४९ जना, लात्भियाका ३३ जना, अमेरिकाका १८ जना, युके (ब्रिटेन) का १५ जना, अस्ट्रेलियाका ६ जना, क्यानडाका ६ जना, दक्षिण अफ्रिकाका चारजना, मलेसिया, जर्मनी, रुसका ३–३ जना, आयरल्यान्ड, एस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्डः २–२ जना, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन, हङ्गेरीका १–१ जना रहेका छन् ।

चीन सरकारको आधिकारिक तथ्यांक अनुसार, अहिलेसम्म मृतकहरूको संख्या १६ जना पुगेको हाे। सञ्चार सम्पर्क विच्छेद र हिमाली भू-भागमा सडक ध्वस्त भएका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको जनाइएकाे छ। चिनियाँ अधिकारीहरूले ड्रोन प्रविधि र उद्धार टोलीमार्फत रातदिन खोजी कार्य जारी राखेको बताएका हुन् ।