आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी

9 Shares

काठमाडौं । नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक काम भइरहेको जानकारी दिए ।

यो प्रक्रिया सफल भए नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने उनले बताए । हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा रहेका छन् । थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालमा मात्रै आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल हुने उनले बताए ।

नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताउँदै शेर्पाले यसको विकासमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा विभिन्न सरोकारवालाको संयुक्त योगदान रहेको बताए ।

सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै नेपालको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको बताए । नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्नसमेत संघको भूमिका रहेको उनले बताए ।

‘नेपालको पर्वतीय पर्यटन विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा विकास भएको छ । यो विकास हुनुमा हामी सबैको उत्तिकै योगदान रहेको छ । सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको छ,’ शेर्पाले भने ।

नेपाल पर्वतारोहण संघ सुरुदेखि नै नेपालको पर्वतारोहण क्षेत्रको विकासमा लागिपरेको बताउँदै उनले भने, ‘नेपाल सरकारले जारी गर्ने गरेको पीकको लिस्टसमेत नेपाल पर्वतारोहण संघले नै तयार पारेको हो । अहिले नेपाल सरकारको टेक्निकल कुरामा पनि हामी काम गरिरहेका छौँ ।’

संघले अहिले एक सय वटा हिमालको प्रस्तावना तयार पारिरहेको शेर्पाले बताए । त्यससँगै आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने काम भइरहेको उनले जानकारी दिए ।

‘अहिले हामी आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय रिकग्नाइजेसनका लागि काम गरिरहेका छौँ । यससँगै आठ हजारभन्दा बढी २० वटा हिमाल हुनेछन्,’ उनले भने, ‘यो कार्य सफल भएको खण्डमा आठ हजार मिटरभन्दा ठूला १४ वटा हिमाल नेपालमै हुनेछन् । यो कार्य अन्तिम चरणमा पुगेको छ । यसको डकुमेन्टेसनको काम भइरहेको छ ।’

यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर)लाई आधिकारिक रूपमा समावेश गरिसकेको छ ।

त्यसैगरी ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन् । जसमा कञ्चनजंघा सेन्टर (८,४७३ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन् ।