सोलुखुम्बुमा सहुलियतको नुनको माग बढ्दो, एक वर्षमा ७२ लाखभन्दा बढीको बिक्री

10 Shares

सोलुखुम्बु । सोलुखुम्बुमा सहुलियत दरमा वितरण हुँदै आएको आयोडिनयुक्त नुनको खपत बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतिप्याकेट ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको नुन गत आर्थिक वर्षमा ७२ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको छ।

सल्लेरी डिपो र सोताङस्थित लालीगुराँस महिला सहकारी संस्थामार्फत जिल्लावासीलाई सहुलियत दरमा नुन वितरण हुँदै आएको छ। पछिल्ला वर्षमा नुनको माग बढ्दै गएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय सोलुखुम्बुका प्रमुख श्यामप्रसाद शाहले बताएका छन्।

उनका अनुसार सोताङ र महाकुलुङ गाउँपालिकामा महिला सहकारीमार्फत तथा जिल्लाका अन्य स्थानीय तह र सल्लेरी आसपासका सरकारी कार्यालयमा सल्लेरी डिपोमार्फत नुन वितरण गरिँदै आएको छ।

आर्थिक वर्ष २०८२र८३ मा जिल्लाभर ७२ लाख ८२ हजार ७९ रुपैयाँ बराबरको नुन बिक्री भएको कार्यालयले जनाएको छ। यसमध्ये सल्लेरी डिपोबाट ४८ लाख ६ हजार २६९ रुपैयाँ र सोताङ डिपो तथा बिक्री केन्द्रबाट २४ लाख ७५ हजार ८१० रुपैयाँ बराबरको नुन बिक्री भएको हो।

परिमाणका आधारमा उक्त अवधिमा जिल्लाभर ८ हजार ९१ क्विन्टल २१ किलोग्राम नुन बिक्री भएको छ। यसमध्ये सल्लेरी क्षेत्रबाट ५ हजार ३४० क्विन्टल ३१ किलोग्राम र सोताङ तथा महाकुलुङ क्षेत्रमा २ हजार ७१६ क्विन्टल ९० किलोग्राम नुन वितरण गरिएको कार्यालयको तथ्यांक छ।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा जिल्लाभर ६९ लाख रुपैयाँ बराबरको ७ हजार ५४७ क्विन्टल नुन बिक्री भएको थियो। त्यसको तुलनामा गत आर्थिक वर्ष नुन बिक्रीबाट प्राप्त रकम ३ लाख ५३ हजार ४२९ रुपैयाँले बढेको छ भने बिक्री परिमाण ५४३ क्विन्टल ७१ किलोग्रामले वृद्धि भएको छ।

स्थानीय तहगत विवरणअनुसार सोलुदूधकुण्ड नगरपालिकामा सबैभन्दा बढी नुन बिक्री भएको छ। गत आर्थिक वर्ष नगरपालिकामा १ हजार ७३६ क्विन्टल ३१ किलोग्राम नुन बिक्री भएको थियो। त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिकामा १ हजार ५३८ क्विन्टल र माप्य दूधकोशी गाउँपालिकामा १ हजार १५० क्विन्टल ५० किलोग्राम नुन बिक्री भएको कार्यालयले जनाएको छ।

नेचासल्यान गाउँपालिकामा ८२६ क्विन्टल ५० किलोग्राम, खुम्बु पासाङल्हामु गाउँपालिकामा ३१ क्विन्टल र लिखुपिके गाउँपालिकामा ७ क्विन्टल नुन बिक्री भएको छ। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका लागि थप १६ क्विन्टल नुन उपलब्ध गराइएको कार्यालयले जनाएको छ।