काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ ।
टिवानले आज आयोजना गरेको ‘नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ प्रदान कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र साझा समस्या समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले टिवान नाट्टाको एक अभिन्न अङ्ग भएकाले टिवान र नाट्टाको समस्या एउटै भएको बताए । ‘टिबान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,’ उनले भने ।
टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस र पर्यटन उद्योगमा धेरै समस्या भएकाले यस समस्या समाधानमा वर्तमान कार्यसमिति लाग्ने विश्वास व्यक्त गरे ।
नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानको समस्या मात्र नभएर सारा पर्यटन क्षेत्रको समस्या भएकाले यसको समाधानका लागि नाट्टाले प्रतिबद्ध भएर काम गर्ने बताए ।
टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटक बसपार्क नहुँदा पर्यटक बस व्यवसायीले ठूलो समस्या भोग्नुपरेको भन्दै यसको समाधानका लागि नाट्टासँग सहकार्य गरिने बताए ।
पर्यटक बस व्यवसायीको हकहितको अधिकारको रक्षाका लागि स्थापना भएको टिवानले हाल अस्थायी बसपार्कको रूपमा सोह्रखुट्टे सडक प्रयोग गर्दै आइरहेको छ ।
टिवानले हाल दैनिक १०० पर्यटकीय बसमार्फत नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराह, लुम्बिनी, जनकपुरलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया